काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गर्दै छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनीहरूले अनुमति पनि लिइसकेका छन्। बिहान ९ बजेदेखि ११ बजेसम्म माइतिघर मण्डलामा प्लेकार्ड बोकेर प्रदर्शन गर्ने र ११ बजेदेखि मार्चपास सुरु गर्ने आन्दोलनको तयारी गरिरहेका एक युवाले बताए। उनका अनुसार आन्दोलनको नेतृत्व कोहि समूहले गरेको छैन स्वस्फूत रुपमा सबैले गरिरहेका छन्।
तर आन्दोलनको पूर्वसध्यामा केही समूहले दुर्गा प्रसाईले जेनजीका संयोजक भाइबनीहरुसँग भेटेको भन्दै फोटोसहितको पोस्ट गरेपछि भने अन्य समूहमा हलचल ल्याइदिएको छ। ती युवा भन्छन्,‘हामी युवाहरुको विभिन्न २०,२५ वटा समूह छ तर त्यसरी कसैको सहयोग लिएका छैनौं। स्वस्फूर्त रुपमा आएका हौ। उहाँहरु अभियानका संयोजक होइनन्। कसैलाई संयोजक तोकेका छैनौं। हामीले पनि त्यो फोटो हेरेका छौं। अचम्म लाग्यो। हामी को हौं एउटा पोस्ट बनाउँदै छौं। त्यसरी अरुको सहयोग लिने हाम्रो अभियानका होइनन्।’

आन्दोलनमा दुर्गा प्रसाईंलाई नआउन र जेनजीको आन्दोलनलाई अनावश्यक हस्तक्षेप नगर्न पनि भनिएको उनी बताउँछन्। कसैको सहयोग भन्दा पनि आफूहरुको एजेण्डामा आउन उनीहरुको आह्वान छ।
आन्दोलनलाई शान्तिपूर्वक बनाउने योजना उनीहरुको छ। तर आन्दोलनमा घुसपैठ हुन सक्ने पनि उनीहरुले आंकलन गरेका छन्।
‘आन्दोलनमा घुसपैठ हुन सक्ने अनुमान आफूहरुले गरेको पनि ती युवा बताउँछन्। हामीले भोलीको आन्दोलनमा घुसपैठ हुनसक्छ भन्ने अनुमान गरेका छौं। सबैलाई सम्झाउने हो, उनले भने यदि त्यसो भएमा हामी आफै प्रहरीको जिम्मा लगाउँछौ।’
भोलीको आन्दोलनलाई शान्त बनाउने उनको भनाइ छ। त्यसपछि कसरी अगाडी बढ्ने योजना बनाउने उनको भनाइ छ।
प्रकाशित: २२ भाद्र २०८२ २१:३३ आइतबार





