काठमाडौं जिल्ला अदालतले जेनजी आन्दोलनका क्रममा प्रहरी र प्रहरी चौकीमा आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। अर्का एकलाई साधारण तारेखमा छाड्न भनेको छ ।
गत भदौ २४ गतेको भएको प्रदर्शनका क्रममा तीनकुनेमा रहेका भीएस निकेतन कलेजमा लुकेका प्रहरीलाई बाहिर निकालेर गालीगलौच गर्ने, हतियार लुट्ने र बागमती नदीमा हामफाल्न लगाएर ढुंगामुढा गर्ने कार्यमा संलग्नलाई धरौटीमा छाड्न आदेश भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोलखाको शैलुङका गौतम घिसिङ, सिन्धुपाल्चोक बलेफीका धिरज थापा र पाल्पा रम्भाका विवेक बस्नेतसँग धेरौटी मागेको हो भने नवीन राईलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
दोलखाका घिसिङसँग दुई लाख, सिन्धुपाल्चोकका थापासँग १ लाख र पाल्पाका बस्नेतसँग ५० हजार रुपैयाँ धरौटी मागिएको छ। राई भने साधरण तारेखमा छुटेका छन् ।
घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पनि हुन् ।
प्रकाशित: २३ कार्तिक २०८२ १७:१० आइतबार





