२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

ओली, देउवा र दाहाललाई विश्राम लिन थापाको आग्रह, भने- ‘अब तपाईंहरु बिना पार्टी चलाउँछौं’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सक्रिय राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै थापाले विगत एक दशकदेखि देश तीन नेताको सत्ताको ‘म्युजिकल चेयर’ खेलमा फसेको र यसले राजनीतिक अस्थिरता निम्त्याएको बताएका हुन्।

महामन्त्री थापाले २०७२ सालको संविधान जारी भएपछिको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पटक-पटक सरकार बन्ने र भत्किने शृंखलाले जनतामा निराशा छाएको र देशका मूल मुद्दाहरू ओझेलमा परेको उल्लेख गरे।

‘विगत १० वर्ष ओली, देउवा र दाहालको बीचको म्युजिकल चेयर मात्रै भयो, एक अर्कालाई हटाउने र अर्को आउने खेल चलिरह्यो,’ उनले भने।

थापाले आफ्नो पार्टीसहित एमाले र माओवादीका आम मतदाताले समेत अब नेतृत्व परिवर्तन चाहेको दाबी गरे।

‘हाम्रै मतदाताले हामीलाई के भन्छन् ? तिमीहरुको आफ्नो पार्टीको टाउको तिमीले हटाऊ, उहाँहरुलाई विश्राम लिन लगाऊ,’ थापाले भिडियोमा भनेका छन्।

उनले केही सीमित नेताहरुले मात्रै पार्टी र देशको निर्णय लिने तर त्यसको परिणाम आम नागरिकले भोग्नुपरेको अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।

उनले पार्टीका कार्यकर्ताहरूलाई अब शीर्ष नेताहरूलाई स्पष्ट रूपमा ‘नो मोर’ (अब पुग्यो) भन्न र सम्मानका साथ बिदा गर्न आग्रह गरे। ‘तपाईंहरूले अब छाड्नुपर्छ, तपाईंहरू घर बस्नुपर्छ। अब तपाईंहरू बिना हामी यो पार्टी चलाउँछौं भनेर हामीले भन्नुपर्छ,’ थापाले भने।

उनले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र आर्थिक संकटजस्ता साझा समस्या समाधानका लागि दलभित्र र बाहिर वृहत् संवादको आवश्यकता औंल्याए।

यी समस्याहरूको समाधान नगरी गरिने चुनावको मात्र अर्थ नहुने बताउँदै उनले दलभित्र, सरकारमा र सडकमा रहेका सबै पक्षबीच संवाद हुनुपर्ने धारणा राखे।

प्रकाशित: २६ आश्विन २०८२ १७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App