९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

‘ओली बिनाको एमाले’ बनाउँछु भन्ने षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले धुलो चटाए: ओली

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘ओलीबिनाको एमाले’ बनाउने प्रतिक्रियावादीहरूको चाहना र षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले असफल बनाएको बताएका छन्।

तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै बिहीबार महाधिवेशन स्थलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वलाई स्वीकार गरेर प्रतिनिधिहरूले विरोधीहरूको भ्रमलाई जवाफ दिएको बताएका हुन्।

‘मेरो बारेमा अनेक प्रकारका शक्तिहरू, विभिन्न प्रकारका भ्रम फिजाउने, मनोवैज्ञानिक आतंक र त्रास सिर्जना गर्ने, अनेक प्रकारका जालझेल र षड्यन्त्र भए,’ ओलीले भने, ‘ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले दोस्त पार्नुभएको छ। यस चेतनाका लागि म धन्यवाद भन्न चाहन्छु।’

सम्बोधनका क्रममा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि बाटो प्रशस्त गरिदिएको भन्दै नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र केशव बडालको उच्च प्रशंसा गरे। उनले यी नेताहरूले पदमा टाँसिइरहने प्रवृत्ति अन्त्य गर्दै लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणको नमुना पेश गरेको बताए।

‘उहाँहरूले आफूले अब कुनै संगठनको जिम्मेवारी नलिइकन सेवा गर्ने भनेर जुन लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणको नमुना प्रस्तुत गर्नुभएको छ, त्यसका लागि म सिंगो पार्टीका तर्फबाट सम्मान व्यक्त गर्दछु,’ ओलीले भने।

अध्यक्ष ओलीले रातभर जाग्राम बसेर मतदान प्रक्रियामा सहभागी भएको भन्दै महाधिवेशन प्रतिनिधिहरूको उत्साहको सराहना गरे। उनले २२ सय ८७ मतदाता मध्ये २२ सय ६३ मत खस्नु र झन्डै शतप्रतिशत मतदान हुनुले कार्यकर्ताको पार्टीप्रतिको निष्ठा देखिएको बताए।

‘कतिपय मिडियाले थकाई लाग्यो भनेर प्रचार गरे, तर हाम्रा साथीहरू कति जोसका साथ छमछमी नाचेर लाइनमा बस्नुभयो,’ ओलीले भने, ‘दिन गयो, रात ढल्यो तर साथीहरू झन् जोसिएर लाग्नुभयो। म यो उत्साहलाई सलाम भन्न चाहन्छु।’

उनले प्रतिनिधिहरूले आफूमाथि पुनः विश्वास गरेर अध्यक्षको गहन जिम्मेवारी सुम्पेको भन्दै आफ्नो विवेकले भ्याएसम्म पार्टी र आन्दोलनको पक्षमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रकाशित: ३ पुस २०८२ १९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App