जेन-जी समूहको प्रदर्शनले हिंसात्मकरुप लिँदा इटहरीमा दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा जेन-जी समूहको आन्दोलन हिंसात्मक बनेर उग्ररुप लिएसँगै प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुने दुवै जनाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता योगराज खतिवडाले बताए ।
जेन-जी समूहले इटहरी उपपमहानगरपालिकाभित्रै प्रवेश गरेर मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा आगजनी र तोडफोड गरेपछि प्रहरी कार्यालयतर्फ प्रवेश गर्ने क्रममा गोली चलाएको थियो । गोली लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते एक जना सशस्त्र प्रहरी हवल्दारको पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
बिहान झण्डै साढे ११ बजेदेखि जेन-जी समूहले थालेको आन्दोलन उपमहानगरपालिका अगाडि प्रदर्शन गर्दा प्रहरीसँग पटकपटक झडप भएको थियो । त्यसपछि प्रहरीले पनि प्रदर्शनकारीलाई केही पटक लखेटेर चौरास्त चोकतिर पुर्याए पनि ठूलो संख्यामा रहेका प्रदर्र्शनकारी सामू प्रहरी कमजोर बन्न पुगेको थियो । प्रहरीको उपस्थिति कम रहेको फाइदा उठाउँदै प्रदर्शनकारी उपमहानगर परिसरमा आगजनी गर्न सफल भएका थिए ।
सो क्रममा प्रहरीले दर्जनौ राउन्ड अश्रुग्यास र हवाई फायर समेत गरेको थियो । तर, प्रदर्शनकारीले उपमहानगरपालिका प्रवेश गरी मेयर पौडेलको कार्यकक्षमा आगजनी गर्नुका साथै उपमहानगरपालिकाका सवारी साधनसमेत तोडफोड गरे ।
कर्मचारीहरुले भागेर ज्यान जोगाएका थिए । प्रदर्शनकारीले उपमहानगरपालिका अगाडि रहेको बहुउद्धेशीय सहकारी संस्थामा समेत ढुंगामुढा गरि तोडफोड गरेका छन् । त्यसलगतै ठूलो संख्यामा रहेको जेन-जी समूह नजिकै रहेको इलाका प्रहरी कार्यालयतर्फ अघि बढ्यो । सोही क्रममा प्रहरीले गोली चलाएको हो । घाइतेको संख्या अहिलेसम्म यकिन हुन सकेको छैन् ।
प्रदर्शनकारीले मेयर पौडेलको निजी घरमा समेत आक्रमणको प्रयास गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसो साढे ३ बजे बजेदेखि अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको छ । यद्यपी, कर्फ्यु तोडेर प्रदर्शनकारीले साँझसम्म पनि तोडफोड र हिंसात्मक गतिविधि जारी राखेका थिए । साँझबाट भने प्रदर्शनकारी तितरवितर भएका छन् ।
प्रकाशित: २३ भाद्र २०८२ २१:०५ सोमबार





