पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुष गणेशमान सिंहको योगदान नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा सदैव अमर रहने बताएका छन् ।
आज गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्ण पदक वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले गणेशमान सिंहले जहानियाँ राणा शासनका विरुद्धको आन्दोलनमा गरेको अगुवाइको चर्चा गरे। लौहपुरुष गणेशमान नेपाली इतिहासमा सतिसालझैँ दृढ र अविचलित उदाहरण बनेको उनको भनाइ छ ।
उनले भने, ‘गणेशमान सिंहले नेपाली समाजलाई स्वतन्त्रताको बाटो देखाउनुभयो । उहाँको योगदान केवल कांग्रेस पार्टीका लागि मात्रै होइन, सम्पूर्ण नेपाली जनताको लागि थियो । उहाँले देखाएको मार्ग अनुशरण गर्नसके मात्रै देश साँचो अर्थमा समृद्ध र लोकतान्त्रिक बन्न सक्छ ।’
पूर्वराष्ट्रपति डा यादवले गणेशमान सिंहको नेतृत्व, साहस र राष्ट्रप्रेमकै कारण आफू पनि राजनीतिमा प्रवेश गरेको बताए । गणेशमानले पार्टी तथा देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने असाधारण गुण प्रदर्शन गरेको यादवले बताए ।
‘गणेशमान सिंहले कहिल्यै पद वा शक्ति खोज्नुभएन । उहाँले पार्टी र देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुभयो । त्यही नै उहाँको महानता हो,’ उनले भने ।
डा यादवले विसं २०१७ को घटनापछि नेपाली कांग्रेसको नेतृत्वमा विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको योगदानले देशमा लोकतन्त्रको नयाँ आधार तयार भएको बताए ।
उनले भने, ‘म जनकपुरमा जन्मेको एक साधारण व्यक्ति हुँ । हामीलाई लोकतन्त्रप्रेमी बनाउने प्रेरणा दिने काम विपी, गणेशमान र कृष्णप्रसादबाट आएको हो । काङ्ग्रेसका नेता कार्यकर्ताहरूको पहिचान नै उहाँहरूको त्याग र आदर्शबाट बनेको हो ।’
प्रकाशित: २४ कार्तिक २०८२ २०:३७ सोमबार





