६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री पाण्डे भन्छन् : हितेन्द्र गएर कुलमान आएपछि विद्युत आउँछ भन्ने थियो, तर आएन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुलमान घिसिङ मन्त्री भएर आएपछि पनि विद्युत आपूर्तीमा देखिएको समस्या नहटेको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा शुक्रबार पोखरामा आयोजित ‘विद्युत उपभोक्ता सम्बन्धी अधिकार र हालको कानूनी व्यवस्था’ बारेमा भएको अन्तर्क्रियात्मक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलन पश्चात कुलमान घिसिङ मन्त्री भएर आएपछि विद्युत आपूर्तीमा देखिएको समस्या समाधान हुने विश्वास गरे पनि अवस्था त्यस्तो नदेखिएको बताएका हुन् ।  

‘हितेन्द्रदेव शाक्य हटेपछि अब लोडसेडिङ पनि हट्छ भन्ने सोंचेको थिएँ मैले पनि,’ उनले अगाडि भने, ‘मलाई पनि त्यस्तै लाग्थ्यो, सबैलाई त्यस्तै लागेको थियो होला । कुलमान जी आउनु भो, हितेन्द्र जी जानु भो । अबचाहिं बिजुली आउँछ, काटिदैन होला भन्ने लागेको थियो । तर अवस्था त त्यस्तै देखियो ।’  

कुलमानको उदाहरण दिएर जेनजी आन्दोलनको जगमा बनेको सरकारको समेत घुमाउरो पारामा विरोध गरे । कुलमान आउँदैमा समस्याको समाधान नभएको बताएर उनले पुरानो सरकार गएर नया सरकार आउँदैमा पनि देशले समाधान नपाएको उनको भनाइ थियो । उनले अहिले पनि दैनिक ५÷६ पटक बिजुली जाने आउने भइराखेको दाबी गरे ।  

उनले बिजुली जाने आउने समस्या मात्र नभई बिजुलीको सुविधा भएर पनि उपभोग गर्ने अवस्था नरहेकोसमेत औंल्याए । त्यसको भुक्तभोगी आफू भएको बताउँदै उनले थपे, ‘बिजुल जाने आउने समस्या मात्र होईन, बिजुली भएर पनि नचल्ने अर्को समस्या छ । जेनजी आन्दोलनमा जलाइएको क्वाटर जहाँ म पहिले बस्थेँ त्यहाँ बिजुली त आउँथ्यो, तर आउने बिजुलीले वासिङमेसिन चल्दैन थियो । किचनमा पकाउने, वासिङमेसिन र फ्रिज एकैपटक चलाउने हो भने विद्युत सर्ट भईहाल्थ्यो ।’ उनले यसबारे आफूले विद्युत प्राधिकरणका कर्मचारीलाई भने पनि विभिन्न बहानामा टारेको उल्लेख गरे । पैसा तिरेपछि हामीले उपभोग त गर्न पाउनु पर्ने हो,उनले अगाडि भने,‘तर भोल्टेज पुगेको छैन भनेर टार्ने काम भयो । हाईभोल्टेजको ट्रान्सफर्मर अर्को राख्नुपर्छ भनेर भनियो । यस्ता समस्या आम रुपमा छ ।’  

मुख्यमन्त्री पाण्डेले विद्युत प्राधिकरणले उपभोक्ताको हित सम्बन्धमा प्रभावकारी कार्यान्वयन नगरेको औंल्याए । उनले विद्युत सम्बन्धी सम्पूर्ण अधिकार संघमा रहेको तर प्रदेशलाई भने नियमन गर्नेसम्म पनि अधिकार नहुँदा उपभोक्ता समस्यामा परेको तर्क गरे ।  

नागरिक समाज पोखराका पूर्व अध्यक्ष तथा नागरिक अभियन्ता विष्णुहरी अधिकारीले उद्योगी र पर्यटन व्यवसायीहरुले लो भोल्टेजका कारण काम गर्न नपाएको बताए । हाई भोल्टेजका लागि आग्रह गर्दा विद्युतका कर्मचारीले घुस मागेको प्रमाण आफूसँग रहेको उनले दाबी गरे । त्यस्तै, विद्युत प्राधिकरणले उपभोक्ताको अधिकार संरक्षणमा भूमिका नखेलेको पनि उनले आरोप लगाए । उनले भने,‘नाङ्गो तारका कारण वर्षेनी सयौंको ज्यान जान्छ, लो र हाई भोल्टेजका कारण कयौंको घरमा टिभी, फ्रिज, वासिङमेसिन पड्किन्छ तर यसको समाधानमा विद्युत प्राधिकरण कहिल्यै जिम्मेवार बनेन ।’  

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले नियमित विद्युत आपूर्ती नहुँदा उद्योगी, व्यवसायीले क्षेती व्यहोरिरहेको गुनासो गरे । विद्युत प्रयोग गर्दा भएको क्षेतीको क्षेतीपूर्ती कसले तिर्छ ? उनले अगाडि भने,‘उद्योगमा वस्तु उत्पादन गर्दागर्दै विद्युत जान्छ र सामान बिग्रिन्छ । त्यसको क्षेतीपूर्ती त पाउनुपर्ने हो ।’  

लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई तसाईरहेको भन्दै त्यसले पार्ने असरप्रति सचेत रहन चेतावनी दिए । उद्योगमा असर प¥यो भने देश नै प्रभावित हुन्छ,उनले भने,‘त्यसले रोजगारी कटौती हुन्छ, उनीहरुको परिवारको आम्दानीको श्रोत रोकिन्छ, अनि युवाहरु देशमा भविष्य नदेखेर विदेशिने बढ्छन् । अर्कोतर्फ उत्पादन रोकिन्छ र विदेशबाट वस्तु आयात हुनथाल्छ, यसतर्फ ध्यान दिन जरुरी छ ।’  

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाले उपभोक्ताको हक, अधिकार संरक्षणमा विद्युत प्राधिकरण जिम्मेवार बन्नुपर्ने बताए । विद्युतको प्रयोग, सुरक्षित र गुणस्तरिय सेवा बारे प्राधिकरणले ज्ञारेन्टी गर्नुपर्ने उनको भनाई थियो ।  

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले सूचना सम्प्रेषण गर्ने मिडियाहरु रेडियो, टेलिभिजनलगायतलाई प्राधिकरणले शुल्क मिनाहा गर्नुपर्ने भए पनि त्यसो नगर्दा मिडियाहरु आर्थिक भारमा परिरहेको बताए ।

प्रकाशित: १४ कार्तिक २०८२ १८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App