१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

गगन भन्छन्: कांग्रेसभित्र म संस्थापन हुँ, सभापतिलाई सफल बनाउन चाहन्छु

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महामन्त्री चुनिएपछि स्वाभाविक रूपमा आफू ‘संस्थापन’ भएको टिप्पणी गरेका छन्। नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

‘संस्थापन किन? म नेपाली कांग्रेस महामन्त्री हो,’ थापाले भने, ‘म मेरो सभापति(शेरबहादुर देउवा)लाई सफल बनाउन चाहन्छु। किन सफल बनाउन चाहन्छु, भने त्याे मेरो जिम्मेवारी हो।’

संस्थापन भए पनि आफूसँग पार्टीका विषयमा प्रश्न पनि रहेको उनले बताए। उनले भने, ‘तँ लड्या छैनस्, विद्रोही हैनस् ? भनेर सोधे–म लडेको छु, विद्रोही पनि हो । म त्यो विद्रोही चेत बोकेको संस्थापनको मान्छे हुँ, जो संस्थापनलाई ठिक ठाउँमा उभ्याउने कोसिस गरिराख्छु।’ 

आफूलाई संस्थापन र विद्रोही दुवै भएर ‘पोजिसन’ सम्हाल्न भने बडो गाह्रो महसुस भइरहेको महामन्त्री थापाले बताए। ‘यसो आफ्नै पार्टीका नेताहरू हेर्छु–कस्तो आनन्द छ। संसद्मा एक दिन बोल्न नपर्ने, संसदीय समितिमा कुनै प्रयास गर्न पनि नपर्ने, आफ्ना कुरालाई पार्टीको मत बनाउने प्रयास पनि गर्न नपर्ने। प्रेसले पनि नखोज्ने,’ उनले भने, ‘अनि अर्को थरी नेता हेर्छु–पार्टीको मुख्य नेतृत्वले जे भन्यो त्यो भुईँमा चुहिन नपाउँदै थापेर त्यसलाई पूरा गर्न लाग्ने। बडो आनन्द छ, आफूले सोच्नै परेन । हाम्रो पोजिसन बडो गाह्रो।’ 

महामन्त्री भएपछि सभापतिलाई सफल पनि बनाउन पर्ने, गलत गरेर ठाउँमा प्रश्न पनि गर्नुपर्ने अवस्था आफूहरूमा रहेको उनले बताए। ‘भित्र लड्नु पनि छ, बाहिरबाट आएका कुरा रोक्दिनु पनि छ। सबै बाहिर आएर भन्न पनि नहुने, घर जोगाउनै पर्छ, घरलाई अर्डरमा राख्नै पर्छ,’ महामन्त्री थापाले भने। 

प्रकाशित: १२ भाद्र २०८२ २०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App