महामन्त्री गगन थापाले नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका अनुसार भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र जगदिश्वर नरसिंह केसीले उम्मेदवारी दिएका छन्।
पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ।
विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो।
प्रकाशित: ३० पुस २०८२ १२:३१ बुधबार





