१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

सरकारलाई गगनको प्रश्न- हामीलाई मिलाएर लैजाने हो कि होइन ?

क्याप्शन

नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन शाह नेतृत्वको सरकारसँग सहकार्यका लागि आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन्। तर, कांग्रेसलाई साथमा लिएर अघि बढ्ने वा नबढ्ने भन्ने निर्णय सरकारकै हातमा रहेको उनले बताए।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सहकार्यका लागि सरकारको नियत प्रष्ट हुनुपर्ने बताए।

‘हामी अहिले सरकारसँग मिलेर काम गर्न चाहन्छौं,’ थापाले भने, ‘तर ताली एक हातले मात्र बज्दैन, दुई हातले बज्छ। हामीलाई मिलाएर लिएर जाने हो कि होइन भन्ने कुरा यो सरकारको कुरा हो।’

थापाले प्रतिपक्षमा रहेर कांग्रेसले सरकारका हरेक काममा अवरोध सिर्जना नगर्ने तर गलत कदमको विरोध गर्ने बताए।

‘प्रतिपक्षको अर्थ सबै ठाउँमा टाङ अडाउने वा अप्ठ्यारो पार्ने मात्र होइन,’ उनले थपे, ‘तर जहाँ विधि सम्मत काम हुँदैन र जहाँ नागरिकका पिरमर्काको विषय आउँछ, त्यहाँ हाम्रो प्रश्न र जिम्मेवारी रहन्छ।’

सभापति थापाले सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारलाई पनि परिणाममुखी बनाउन कांग्रेसले रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारले विकास र सुशासनका काममा कांग्रेसलाई साझेदार बनाउन चाहे आफूहरू सदैव तयार रहेको उनको भनाइ थियो।

पार्टीको आन्तरिक सुदृढीकरणसँगै सदन र सरकारका काम कारबाहीमा कांग्रेसले सशक्त र सन्तुलित भूमिका निर्वाह गर्ने उनले बताए।

प्रकाशित: १ वैशाख २०८३ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App