नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटका लागि सुरु गरेको ‘प्राइमरी इलेक्सन’ (प्राथमिक निर्वाचन) को अभ्यासको प्रशंसा गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले यो अभ्यासले पार्टीलाई थप लोकतान्त्रिक र सदस्यप्रति जवाफदेही बनाउने भन्दै यसलाई सकारात्मक सुरुवातको संज्ञा दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि प्राइमरी इलेक्सन गर्न लागेको प्रसंगमा बोल्दै महामन्त्री थापाले यो अभ्यास अन्य दलका लागि पनि अनुकरणीय हुनसक्ने संकेत गरे।
‘उहाँहरूले एउटा राम्रो अभ्यास सुरु गर्नुभएको छ,’ उनले भने, ‘पार्टीभित्र उम्मेदवार बन्न चाहनेहरूलाई सदस्यबाटै अनुमोदित भएर आउने यो विधिले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँछ।’
महामन्त्री थापाले रास्वपाको अभ्यासको प्रशंसा गर्दै कांग्रेसभित्र पनि यस्तै संरचनागत सुधार आवश्यक रहेकोमा जोड दिए। उनले पार्टीको शक्ति केही सय महाधिवेशन प्रतिनिधिमा सीमित हुँदा गुटबन्दी र बिचौलियातन्त्र मौलाएको सुनाए।
उनले कांग्रेसमा पनि १२ लाख क्रियाशील सदस्यले सोझै सभापति छान्ने व्यवस्था गर्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्याए। ‘अहिले कांग्रेसको सभापति बन्न १२ लाख मान्छेलाई रिझाउनु पर्दैन, दुई सय मान्छे रिझाए पुग्छ,’ उनले भने, ‘जब १२ लाख क्रियाशील सदस्यले सोझै सभापति छान्ने व्यवस्था हुन्छ, तब कांग्रेसको सबै गुट त्यही दिन स्वाहा हुन्छ।’
उनले प्राइमरी इलेक्सन जस्ता अभ्यासले नेतालाई सदस्यप्रति र अन्ततः जनताप्रति उत्तरदायी बनाउने तर्क गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीले कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न पहिलोपटक प्राइमरी इलेक्सनको अभ्यास गर्दैछ।
९ जना आकांक्षीबीच हुने प्रतिस्पर्धामा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूले भदौ १२ र २३ गते मतदान गरेर उम्मेदवार टुङ्गो लगाउनेछन्।
यही अभ्यासलाई महामन्त्री थापाले सकारात्मक रूपमा टिप्पणी गरेका छन्।
प्रकाशित: १२ भाद्र २०८२ ०९:१४ बिहीबार




-600x400.jpg)
