‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो। पार्टीको निर्णय गर्ने ठाउँमा चुक्दै हुनुहुन्छ भने नचुक्नुस् भनेर उहाँलाई खबरदारी गर्ने हो, म त्यो जिम्मेवारी निर्वाह गर्ने छु।’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि गगनकुमार थापाले २०७८ मंसिरको अन्तिम दिन दिएको अभिव्यक्ति हो यो।
राष्ट्रिय राजनीतिमा मात्र होइन, गुटभित्र पनि विद्रोह गर्दै आफ्नो स्थान सुरक्षित गर्दै आएका थापाले आफैंले भने अनुसार पार्टीमा महामन्त्रीको जिम्मेवारी पूरा गरे कि गरेनन् भन्ने प्रश्न छ तर उनले आफ्नो विद्रोही छविलाई भने कायमै राखेका छन्। विद्रोह गर्ने र गर्नका लागि प्रोत्साहित गर्दै उनी कांग्रेसको नेतृत्वमा पुगेका छन्।
पुरानो कांग्रेसमा सभापतिपछि महामन्त्री सबैभन्दा शक्तिशाली कार्यकारी पद हो। १४औं महाधिवेशनपछिका चार वर्षमा अक्सर पार्टीभित्र विद्रोही नेताका रूपमा प्रस्तुत भएका थापाले गत वर्षको पुसमा पार्टीभित्रै विद्रोह गरी विशेष महाधिवेशन बोलाए।
विशेष महाधिवेशन मार्फत १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई हटाएर थापा नेतृत्वमा पुगेका हुन्। उनी यही विद्रोहलाई संस्थागत गर्न उद्यत छन्।
२०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोहसँगै कांग्रेससहितका पुराना दलहरू सत्ताबाट किनारा लागे। जेनजी विद्रोहको बलमा बनेको सरकारले तत्कालीन प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गर्यो। निर्वाचनका लागि राजनीतिक दल दर्तादेखि निर्वाचन आचारसंहितसम्म जारी भइसकेको अवस्थामा थापाको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन भयो। देउवासहित पुरानो केन्द्रीय समितिका दुई तिहाइ सदस्य सहभागी नभए पनि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा छानिएको नेतृत्वलाई वैधता दियो। विवाद सर्वोच्च अदालतमा पुग्यो। सर्वोच्चले पनि निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै फैसला सुनायो। सर्वोच्चको फैसलाविरुद्ध देउवा पक्षले पुनरवलोकन निवेदन दिएपछि त्यसमा निस्सा लागेको छ। निस्सासँगै कांग्रेस आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन छ।
सर्वोच्चको अबको निर्णयपछि कांग्रेसको आधिकारिक नेतृत्व विवाद टुंगिनेछ। विवाद टुंगो लाग्नुपूर्व दुवै पक्ष महाधिवेशनमा जुटेका छन्। देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने तयारी गरेका बेला थापा पक्षको महाधिवेशन जारी छ।
शुक्रबार नयाँ नेतृत्वका लागि मतदान भयो। महामन्त्रीको जिम्मेवारीमा रहँदा पार्टीलाई विधिअनुसार हिँडाउन पहल नगरेको आरोप खेप्दै आएका थापा विधि र विधानलाई स्थापित गर्ने भन्दै महाधिवेशनमा छन्। उनी महाधिवेशनमार्फत विद्रोहलाई वैधता दिने प्रयासमा छन्। आफू र आफ्नाका लागि उपयोग गर्न मात्र होइन तत्कालै छाडिदिन सक्ने खुबी पनि थापासँग रहेको निकट एक नेताको दाबी छ। विद्यार्थी राजनीतिदेखि थापा धेरै नेतालाई उपयोग गर्न सफल भएको ती नेताको दाबी छ।
नेपाल विद्यार्थी संघको राजनीति गर्दादेखि नै विद्रोही नेताका रुपमा प्रस्तुत गर्दै अघि बढेका थापा २०५९ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री बने। पार्टी संस्थापन पक्षको चाहनाविपरीत संघको नेतृत्व लिन थापा सक्रिय रहँदा पोखरा महाधिवेशन बिथोलिन पुगेको थियो। २०६४ जेठमा चितवनमा भएको संघको महाधिवेशनबाट थापा नेतृत्वमा पुग्न चाहन्थे। तर प्रदीप पौडेलले पनि नेतृत्व प्रतिस्पर्धाबाट नहट्ने अडान राख्दा थापा पछि हटेका थिए।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको विश्वास आर्जन गरेर थापा पहिलो संविधानसभा सदस्य बनेका थिए। पार्टीको १२औं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवा दुवै समूहलाई मिलाएर केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका थापाले १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षसँग विद्रोह गरे।
१३औं महाधिवेशनमा सुशील कोइरालाले पुनः सभापतिको उम्मेदवार बन्न चाहेपछि थापासहितका नेताले रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवारका बनाउने तयारीमा थिए। तल्लो तहका अधिवेशन चल्दाा सुशीलको निधनपछि पौडेल संस्थापन पक्षबाट सभापतिको प्रत्यासी बने। कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा उम्मेदवारी दिए। थापा सिटौलासँग मिलेर महामन्त्रीको प्रत्यासी बने। निर्वाचनबाट देउवा सभापतिको जिम्मेवारीमा पुगे। देउवालाई नेतृत्वमा पुग्न सहयोग गरेका सिटौला समूहबाटै थापा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा पुगे।
१४औं महाधिवेशनसम्म आइपुग्दा थापाले सिटौलालाई छाडे। पार्टीलाई देखिने–सुनिने बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै थापा शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्यासी बने। २०३६ सालका नेपाल विद्यार्थी संघका उपाध्यक्ष मीनेन्द्र रिजाल र २०४४ सालका महामन्त्री प्रकाशशरण महतलाई मात्र होइन, २०५७ सालका अध्यक्ष विश्वप्रकाश शर्मालाई पनि पछि पार्दै थापा शेखर समूहबाट महामन्त्री निर्वाचित भए। तीन हजार २३ मतसहित थापा महामन्त्रीमा निर्वाचित भए। शर्मा पनि १ हजार ९ सय ८४ मत पाएर महामन्त्री चुनिए।
थापा र शर्मा महामन्त्रीमा निर्वाचित हुँदा १ हजार ५५६ मतसहित प्रकाशशरण महत तेस्रो बने। महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले १ हजार ३९३ मत, रिजालले ८ सय ९ मत र राजाराम कार्कीले १ सय ६ मत पाए।
२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनपछि थापाले शेखरलाई नेता मान्न अस्वीकार गरे। देउवासँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिए। दलको नेताका लागि भएको निर्वाचनपछि विस्तारै देउवा र शेखरसँग दूरी बढाउँदै लगेका थापाले आफ्नै गुटभित्र मात्र होइन पार्टीमै विद्रोह गरे। विशेष महाधिवेशनबाट उनले नेतृत्व हत्याए। त्यसलाई वैधता दिन थापा सक्रिय रहँदा कांग्रेसमा चिराचिरा परेको छ।
देउवा पक्ष मंसिर तेस्रो साता महाधिवेशन गर्ने तयारीमा छ। शेखरसहितका केही नेताले पार्टी एकताको पक्षमा उभिएर दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने घोषणा गरिसकेका छन्।
प्रकाशित: २४ आश्विन २०८३ १२:५६ शनिबार




-600x400.jpg)
-600x400.jpg)