२५ आश्विन २०८३ आइतबार
image/svg+xml
ब्लग

भोटेकोशी विपत्तिका ४५ दिनः प्रियजनकाे सम्झनाले पिराेलिरहन्छ

रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन। आँखैअगाडि बस्तीलाई बाढीले बढारेको त्यो दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ थाहा छैन।

अझै पनि यी सबै सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ त उनलाई। यतिका दिनसम्म पनि कान्छाको आँखामा भने भदौ १० गतेको त्यो बाढीको भेल नाचिरहन छाडेको छैन। त्यो बाढीको गड्याङगुडुङको आवाज अझै कान्छाको कानमा गुञ्जिरहन छाडेको छैन। भेलले बगाउँदै गर्दा आफन्त चिच्याएका हुन्थे। ती आफ्नाहरूको चिच्याहट सम्झँदा मन काप्न छाडेको छैन। ती घटना बिर्सन सके पो मन भारी हुन छाड्थ्यो कान्छाको।

बाढीपछि मृत्यु भएका ती आफन्त र गाउँले अब कहिल्यै फर्केर आउने छैनन्। हराएका ती प्रियजन अब त फर्केने आशा पनि मरिसक्यो। कहिलेकाहीँ फर्की आउँछन् कहीँ कतैबाट पो भन्ने भ्रम पनि मनबाट पूरै हट्न सकिरहेको छैन कान्छाको। आँखैअगाडि बगिरहेका ती प्रियजन सम्झन्छन्। बस्तीलाई बाढीले बढारेको दृश्य आँखामा नाचिरहन्छ अनि झन् मन भक्कानिन्छ कान्छाको। सुन्दर बस्तीलाई बाढीले क्षणभरमै बगर बनाउला र यति धरै कुरूप बन्ला बन्ने कल्पना पनि गरेका थिएनन् कान्छाले। ती उजाडलाग्दो बगरलाई हेर्दा आँखा रसाउँछ उनको।

त्यो दिन बाढीको भेल असामान्य रूपमा तीव्र थियो। बाढी आउँदा उनी केही अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल भए तर सुरक्षित स्थानमा पुगेपछि पनि उनले देखेको दृश्य झनै भयावह थियो। “गड्याङगुडुङ गरेर ठूलो आवाज आयो। के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ”, कान्छा त्यो दिन सम्झिन्छन्, “बेतोडले भागेर अलि माथि पुगेँ। तल हेर्दा मानिस बगिरहेका थिए। कोही चिच्याइरहेका थिए। हेर्दाहेर्दै बाढीले स्याफ्रुबेँसी बजार बढार्‍यो।”

आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको पीडा भने उनको मनमा गहिरो गरी बसेको छ। “सयौँ मानिस बगेको हेर्नुपर्‍यो। त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन”, कान्छा भन्छन्, “बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नै के थियो र? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ।”

त्यस दिन बाढीको भेलले कान्छाका बाल्यकालदेखिका सबै सम्झनासमेत बगाएर लग्यो। सँगै खेलेका साथीहरू, परिचित अनुहार र त्यो बस्ती अहिले कान्छाका सम्झनामा मात्रै छन्। गड्याङगुडुङको आवाज, एकाएक उर्लिएको भेल, मानिसको चिच्याहट र आँखैअघि बगिरहेको बस्ती दृश्य सायद कान्छाको मानष्पटलमा ननाचेको कुनै क्षण नै नहोला।

विपद् दोहोरिने डरले अझै तर्सिरहन्छ मन...

बाढी गएको यतिका दिन बितिसक्दा पनि अझै डराइरहेको छ कान्छाको मन। घरीघरी ठूलो विपद् फेरि दोहोरिन्छ कि भन्ने चिन्ताले सताउन छाडेको छैन। “त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ”, उनी भन्छन्, “फेरि यस्तै विपद् दोहोरिन्छ कि डर लागिरन्छ। रातैभर आनन्दले निन्द्रा नै पर्दैन।”

कान्छाका श्रीमती ल्हात्सेन डोल्पालाई पनि आँखै अगाडिको त्यो घटना न सम्झिन मन छ। न बिर्सन सजिलै सक्छिन्। उनका पनि कैयौँ रात डरै डरमा बितिसकेँ। अझै मनको डर हट्न सकेको छैन। “आकाशमा मेग गर्जंदा पनि डर लाग्छ, हामीलाई जिन्दगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले”, उनी भन्छिन्।

अर्का स्थानीय सन्दु ज्ञावाले पनि आफ्ना छ आफन्तलाई त्यही बाढीमा गुमाए। बाढीले बगाएको बस्ती फेरि बनाउन सकिएला भन्ने लाग्छ सन्दुलाई। भत्किएका घर, सडक र संरचना पनि फेरि उठाउन सकिएला तर बाढीले खोसेका आफन्त भने कहिल्यै फर्कने छैनन्। सम्झनाले उनलाई पनि हरेक दिन सताइरहेको छ।

सन्दुको घरलाई भने बाढीले छुन सकेन। घर जोगिएकामा खुसी हुनुपर्ने हो तर घरको आँगनीको डिलमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उनको मन झन् भारी बनाउँछ। आफ्नै घर जोगिएको खुसीभन्दा तलको बस्ती र आफ्ना आफन्त गुमाएको पीडा ठूलो छ उनलाई। “बस्ती त फेरि बनाउन सकिन्छ होला। घर पनि फेरि बनाउन सकिन्छ तर गुमाएका मान्छे कसरी फर्काउने?” सन्दुको भनाइमा बाढीले छाडेको पीडाको गहिराइ स्पष्ट झल्किन्छ।

गत वर्ष पनि यस पटकको जस्तै भारी वर्षाबिना भोटेकोशीमा बाढी आएको थियो तर यस्तो सुनामी थिएन। सन्दुको मनमा अर्को डरले डेरा जमाएको छ - फेरि पनि यो भन्दा ठूलो बाढी आयो भने? “

अब त ठूलो बाढी जुनसुकैबेला आउला भन्ने डर लाग्छ। बचेको घर पनि कुनै दिन बगाएर लैजाला कि भन्ने चिन्ता हुन्छ”, उनी भन्छन्।

त्यो दिन बाढी आउँदैछ भन्ने सूचना आफूहरूले नपाएको सन्दु बताउँछन्। नदीको आवाज अस्वाभाविक आएपछि के रहेछ भनेर हेर्दा पनि निकै ठूलो बाढी पो रहेछ। “हामीले बाढी आउँदैछ भन्ने सूचना पाएका थिएनौँ। त्यस दिन बाढी आएको देख्नेबित्तिकै सुस्केरा हालेर आवाज दिन खोजेँ। कसैले सुनेन”, उनी भन्छन्।

उर्लिरहेको बाढीको गर्जनसामु एउटा मानिसको सुस्केराको आवाज कति न ठूलो हुनु र मानिसले सुन्नु। सुनेर पनि भाग्न भियाउने अवस्था थिएन। सन्दुले सुस्केरा दिँदादिँदै उनकै आँखाअघि बाढीले बस्ती र मानिसलाई बगायो। त्यो दिन सम्झिँदा सन्दुको मन अझै झस्किन छाडेको छैन। “अझै पनि यी सबै सपना भइदिएहुन्थ्यो जस्तो लाग्छ। बिहान उठ्दा ‘अँ, धन्न सपना पो रहेछ’ भन्न पाए हुन्थ्यो”, उनी भन्छन्। तर, त्यो सपना हुनै सक्दैन अब, कठोर सत्य हो। जुन स्वीकार गर्नुको विकल्प नै छैन।

स्याफ्रुबेँसी बजारको उजाड बगर हेरेपछि आफन्त सम्झिरहन्छन् सन्दु। घरको आँगनमा उभिँदा घर बचेको र आफू बाँचेको खुसीभन्दा अरू गुमाएकाको पीडा बल्झिन्छ। बाढीको भेल तलतिर बगेर गयो तर त्यसले सन्दु र अन्य बाँचेकाको मनमा छाडेको त्रास भने अझै बगेको छैन।

विपद्पछिको कठिन जीवनस्तर

भोटेकोशी बाढी गएको ४५ दिन बितिसकेको छ। बाढीले खोसेका जीवन फर्केर आउने छैनन्। बेपत्ता आफन्त भेटिने आशा पनि मरिसक्यो। बाँचेका मानिस भने गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका छन्। हिजोका सुन्दर बस्ती र हराभरा खेत, प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ अहिले उजाड बगर बनेको छ। त्यो बगर देख्ने जो कोहीको मन भारी हुन्छ र आँखा रसाउँछन्।

बाढीबाट जोगिएकाको जीवन पनि सहज छैन। घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने चुनौती थपिएको छ। “महँगी असाध्य छ। हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन। किनेर खान पनि नजिकै ठाउँ छैन। अलि टाढा जाँदा धेरै महँगो पर्छ”, सन्दु भन्छन्, “बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ।”

विपत्तिले दिएको पीडा र अभावकाबीच सन्दुको मनमा भने निराशासँगै पुनः सामान्य जीवनमा फर्किने झिनो आशा पनि बाँकी छ। सडक बन्ला, पुल बन्ला, बस्ती फेरि बस्ला र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किएला भन्ने आशाले उनलाई घचघच्याइरहन्छ। पुनर्निर्माणपछि जीवन फेरि सहज बन्ने विश्वास त छ तर त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने उनलाई थाहा छैन। अहिलेका लागि उनीसँग गुमाएका आफन्तको कहिल्यै नमेटिने सम्झना, विपद्ले छाडेको पीडा र फेरि जीवन लयमा फर्किने प्रतीक्षा भने बाँकी नै छ।

वैकल्पिक आवतजावतलाई तुइन

केही सामान किन्न र उपचार गर्न जानुपर्दा भने घण्टौँ कुरेर तुइनबाट आवातजावत गर्नुपर्ने अर्को समस्या सुनाउँछन् कान्छा तामाङ। “तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ। के गर्नु तुइनबाहेक अन्य केही विकल्प नै छैन”, उनी सुनाउँछन्।

रसुवासहित बाढीबाट प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चार तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा आवातजावतका लागि बनाइएका ती तुइन निर्माण तथा मर्मतमा करिब २० लाख  रुपैयाँ खर्च भएको बताए।

“नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ। त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई मोटराइज्ड गर्ने काम भएको छ”, उनले भने, “रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रका तुइन सञ्चालनमा रहेको छ।”

अधिकारीका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ। विभागका अनुसार स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रसुवाकै रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ।

विपद्पछि १२ झोलुङ्गे पुलको मर्मत सम्पन्न

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत भएको छ भने थप नौ पुलको मर्मत अन्तिम चरणमा पुगेको छ। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढीबाट क्षतिग्रस्त पुलको मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्टस् खरिद भएको बताएका छन्। तेस्रो चरणका लागि आवश्यक स्टिल पार्टस् खरिदको सम्झौता भई पहिलो पटकको सामानसमेत आपूर्ति भइसकेको छ उनको भनाइ छ।

विभागका अनुसार मर्मत सम्पन्न भएका पुलमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल छन्। गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मतसमेत सम्पन्न भएको विभागले जनाएको छ।

विभागका अनुसार यी १२ झोलुङ्गे पुलको मर्मतमा करिब तीन करोड खर्च भएको छ। त्यस्तै गोरखा–धादिङको बादरे, धुवादीघाट, जिन्टे–स्यालटार, धादिङ–नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा–धादिङको जोगीमारा र कौडीखोला, गोरखा–चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

विभागले बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कामसमेत सुरु गरेको जनाएको छ।

त्यस्तै क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको छ। थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्तावसमेत पेस गरिएको विभागका उपमहानिर्देशक अधिकारीले बताए।

-  प्रगति ढकाल, रासस

प्रकाशित: २३ आश्विन २०८३ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App