नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैं तिहार अफर २०८३’ ल्याएको छ। अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुट, मोबाइल डाटा, भ्वाइस तथा एसएमएस प्याकेज सहुलियत दरमा उपलब्ध हुनेछन्।
नेपाल टेलिकमले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन्।
त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थपसहित १३ महिनाको सेवा पाउनेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म नै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा यसअघि नै एक हजार रुपैयाँ छुट उपलब्ध छ।
४९९ रुपैयाँमा ५ जीबी दैनिक डाटा
अफरअन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकले ४९९ रुपैयाँमा ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ डाटा प्याकेज खरिद गर्न सक्नेछन्।
४९९ रुपैयाँको प्याकेजमा प्रतिदिन पाँच जीबी र ६९९ रुपैयाँको प्याकेजमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ। तोकिएको दैनिक डाटा सकिएपछि क्रमशः दुई एमबीपीएस र तीन एमबीपीएस गतिमा बाँकी अवधिभर असीमित डाटा प्रयोग गर्न सकिनेछ। यी दुवै प्याकेजको समयावधि ३० दिनको हुनेछ।
भ्वाइस र एसएमएस प्याकेज पनि
कम्पनीले २५० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट भ्वाइस सुविधासहितको ‘जोयफुल मिनेट्स’ प्याकेज पनि उपलब्ध गराउनेछ। त्यस्तै, ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधासहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ। यी प्याकेजको समयावधि पनि ३० दिनको हुनेछ।
नेपाल टेलिकमका अनुसार, मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले असोज ३० देखि कात्तिक ३० गतेसम्म यो अफरको सुविधा लिन सक्नेछन्। ग्राहकले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन्।
चाडपर्वका अवसरमा उपलब्ध गराइने यस्ता अफरले ग्राहकलाई आफन्तसँग सम्पर्कमा रहन, खुसी बाँड्न र डिजिटल सेवाको प्रयोग बढाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास छ।

प्रकाशित: २४ आश्विन २०८३ १३:०० शनिबार




-600x400.jpg)
-600x400.jpg)