१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

पार्टी फुटाउने एक शब्द बोलेको प्रमाण देखाउन गगनको चुनौती

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले पार्टी फुटाउन खोजेको भन्ने आरोपको प्रतिवाद गरेका छन्।

उनले यो भेलामा सहभागी कसैले पनि पार्टी विभाजनको पक्षमा एक शब्द नबोलेको दाबी गर्दै त्यस्तो प्रमाण देखाउन चुनौती दिएका हुन्।

मंगलबार विशेष महाधिवेशनको बन्दसत्र समापन गर्दै महामन्त्री थापाले आफूहरू केही बन्नका लागि नभई कांग्रेस बदल्नका लागि एक ठाउँमा उभिएको स्पष्ट पारे।

‘यो हलभित्र दुई–तीन दिनसम्म चलेको बहसमा कसैले एउटा मात्रै कुरा पार्टी फुटाउने वा पार्टीलाई कमजोर बनाउने गरी बोलेको छ भने मलाई भन्दियोस्,’ थापाले भने, ‘हामी सिङ्गो कांग्रेस बनेर यहाँ छलफल गरिरहेका छौँ। हामी यहाँ केही बन्न आएका होइनौँ, केही बन्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न गर्न पनि आएका होइनौं।’

उनले आफूहरू अँध्यारोमा रहेका नागरिकका लागि प्रश्न गर्न बाध्य भएको बताए। ‘म उज्यालोमा बसिरहेको छु तर तिनीहरू (नागरिक) किन अँध्यारोमा बसिरहेका छन् भनेर प्रश्न गर्नु हाम्रो जिम्मेवारी हो,’ उनले भने।

महामन्त्री थापाले कांग्रेस बदलिए मात्र देश बदल्न सकिने निष्कर्ष सुनाउँदै महाधिवेशनले पार्टीमा नयाँ र सबल नेतृत्व स्थापित गर्ने दाबी गरे।

‘कांग्रेस बदलिने तयार छ र बदलिएको कांग्रेसले देश बदल्ने जिम्मा लिन सक्छ भन्ने सन्देश यो विशेष महाधिवेशनले दिएको छ,’ उनले भने, ‘तपाईंहरू गाउँ जाँदा यही सन्देश लिएर जानुस् कि कांग्रेस अब फेरि एकपटक जुरुक्क उठ्दैछ।’

संस्थापन पक्षसँग भइरहेको वार्ताप्रति संकेत गर्दै उनले आफूहरूले राखेका जायज माग र विधानका कुरामा नेतृत्व डराउनुपर्ने कुनै कारण नरहेको जिकिर समेत गरे।

प्रकाशित: २९ पुस २०८२ १९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App