१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

साधारण सदस्य समेत नरहने गरी गगन-विश्व-मन्सुर पार्टीबाट निष्कासित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षीय बैठकले उनीहरूलाई पार्टीको विधान र अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीको निर्णय गरेको हो।

महामन्त्रीद्वयसँगै सह-महामन्त्री फर्मुल्लाह मन्सुरलाई पनि सोही प्रकृतिको कारबाही गरिएको छ।

बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टी नेता मीन विश्वकर्माले महामन्त्रीहरूले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरीत कार्य गरेको बताए।

उनले भने, ‘पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) लगायतका विभिन्न धाराहरू उल्लंघन गर्दै पार्टीलाई गम्भीर हानी नोक्सानी पुर्‍याउने काम गरेको हुँदा आजकै मितिबाट लागु हुने गरी साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।’

उनीहरुले पार्टीको आधिकारिक निर्णय विपरीत विशेष महाधिवेशन आह्वान गरेको, पार्टीको विधान र नियमावली विपरीत समानान्तर गतिविधि सञ्चालन गरेको, नेतृत्वका लागि समानान्तर रूपमा उम्मेदवारी दर्ता गराएको र पार्टी अनुशासनको ठाडो उल्लंघन गर्दै अराजक गतिविधि गरेका कारण कारबाही गरिएको नेता विश्वकर्माले सुनाए।

उनले भने, ‘उहाँहरूले विधि र प्रक्रिया मिचेर समानान्तर गतिविधि गर्नुभयो, जसले आसन्न निर्वाचन र संविधान रक्षाको कार्यभारमा समेत असर पुर्‍यायो। त्यसैले अनुशासनको कारबाही स्वरूप उहाँहरूलाई पार्टीबाट हटाइएको हो।’

प्रकाशित: ३० पुस २०८२ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App