७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

पृथ्वीसुब्बाको प्रमुख उपलब्धि: सामाजिक सञ्जाल नियमन

नेकपा (एमाले) का उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले नीतिगत सुधार, सामाजिक सञ्जाल नियमन र डिजिटल पूर्वाधार विकासका क्षेत्रमा भएका कार्यहरू प्रस्तुत गरेका हुन्।

मन्त्रिपरिषद्बाट सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी गरी टिकटक, भाइबर जस्ता प्लेटफर्महरूलाई नेपालमा सूचीकरण र नियमनको दायरामा ल्याइएको गुरुङले उल्लेख गरेका छन्।

यस्तै, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारण नेपाल स्थापना गर्न सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ लागू गरिएको उनले भनाई छ।

मुलुकमा सूचना प्रविधिलाई उद्योगको रूपमा विकास गर्न राष्ट्रिय कृत्रिम बुद्धिमत्ता नीति, २०८१ पारित गरिएको र साइबर आक्रमण न्यूनीकरणका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको उनले उल्लेख गरेका छन्।

गुरुङका अनुसार ६५ सरकारी निकायका सेवालाई नागरिक एपमा आबद्ध गर्ने र ३४० निकायको प्रणाली सरकारी क्लाउडमा होस्ट गर्ने कार्य उनकै पालामा भएको हो।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको सुरक्षण मुद्रण केन्द्रलाई पुनः सञ्चालनमा ल्याई राहदानी र लाइसेन्स जस्ता महत्त्वपूर्ण कागजात स्वदेशमै छाप्ने वातावरण तयार पारिएको गुरुङले बताए।

यस्तै, फोरजी सेवालाई ८९.५८ प्रतिशत जनसङ्ख्यामा विस्तार गरिएको र ७७ वटै जिल्लामा फाइबर पुर्‍याइएको उनले सुनाए।

सञ्चार क्षेत्रलाई समावेशी बनाउन गोरखापत्रको बहुभाषिक सेवा ४३ बाट बढाएर ४५ भाषा पुर्‍याइएको, रेडियो नेपालबाट २५ भाषा र नेपाल टेलिभिजनबाट ७ मातृभाषामा समाचार प्रसारण सुरु गरिएको उनको उपलब्धि सूचीमा उल्लेख छ।

प्रतिनिधि सभा उम्मेदवार गुरुङले मन्त्री र मुख्यमन्त्री हुँदा लमजुङका लागि भएका सडक, पुल, खानेपानी र स्वास्थ्य क्षेत्रका दर्जनौँ योजनाहरूको विवरण पनि सार्वजनिक गरेका छन्।

मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड, विभिन्न मोटरेबल पुलहरू, र एक घर एक धारा जस्ता अभियानमार्फत जिल्लाको मुहार फेर्न आफूले नेतृत्वदायी भूमिका खेलेको उनको दाबी छ।

उनले लमजुङको विकासलाई निरन्तरता दिन र अधुरा योजना पूरा गर्न आफूलाई पुनः मतदान गर्न आग्रह गरेका छन्।

प्रकाशित: ७ फाल्गुन २०८२ २०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App