भारतीय महिलाले रौतहटको गरुडास्थित अनाथालयलाई सहयोग गरेकी छन् । गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई हैदरावादकी नीरु लाठले बिहीबार खाद्यान्न, कपडा तथा नगद सहयोग गरेकी हुन् ।
गौर माइती भई भारत सीतामढी जिल्लाको सुरसंड घर भएर हैदरावाद बस्दै आएकी लाठले अनाथालयलाई २४ थान सुट, ५ कार्टुन चाउचाउ, २ कार्टुन बिस्कुट, २ कार्टुन फलफूलको जुस, एक बोरा चामल तथा एक बट्टा चकलेट सहयोग गरेकी हुन् ।
अनाथालयका अध्यक्ष भुवनेश्वर राम जयसवाललाई लाठका पिता पवनकुमार अग्रवालले नगद २ हजार ५ सय रुपैयाँ पनि उपलब्ध गराएका छन् । अनाथालयका व्यवस्थापक कृष्णकुमार साहसित लाठकी आमा मीरादेवी अग्रवालले कुनै समस्या भए बताउन आग्रह गरेपछि अनाथ बालबालिका तथा पाहुनाहरुका लागि केही थान कुर्सी चाहिएको बताउँदा तत्काल ३० थान कुर्सी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
गौरमा अग्रवाल समुदायका अगुवा समाजसेवी रहेका पवनकुमार अग्रवालले पहिलोचोटि अनाथहरुलाई भेट्न पाउँदा आफू द्रविभूत भएको बताएका छन् । हैदरावादबाट आएकी छोरीको इच्छाअनुसार अनाथहरुलाई सहयोग गर्न आएको उनले बताए । मारवाडी सेवा समिति गौरका अध्यक्षसमेत रहेका अग्रवालले आगामी दिनमा अनाथहरुलाई अझ बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा अनाथालयका सचिव गणेशकुमार साह, गौरका समाजसेवी विष्णु झासमेतको सहभागिता रहेको थियो ।
अनाथहरुको अवस्थाबारे बुझेर प्रभावित भएकी लाठले आगामी दिनमा पनि अनाथालयसित प्रगाढ सम्बन्ध राख्ने विचार व्यक्त गरेकी छन् ।
प्रकाशित: ७ फाल्गुन २०८२ १९:५२ बिहीबार





