नेकपा एमालेमा फर्किएपछि नेत्री रामकुमारी झाँक्रीले आफू अत्यन्तै खुसी भएको बताएकी छन्। उनले नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा बिताएको करिब चार वर्षको अवधि बर्बाद भएको र राजनीतिक रूपमा त्यो अवधि उपलब्धिहीन रहेको टिप्पणी पनि गरिन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बुधबार कुराकानी गर्दै झाँक्रीले एमालेबाट अलग भएर एमालेमै फर्किंदासम्मको आफ्नो राजनीतिक अनुभव र अनुभूतिबारे खुलेर चर्चा गरिन्। ‘म एकदमै खुसी छु। घर मिस भएको थियो, अब आइपुगें जस्तो भयो,’ उनले भनिन्, ‘मैले एमालेको संगठन, साथीभाइ र समग्र वातावरण धेरै मिस गरेकी रहेछु।’
नेकपा एसमा रहँदाको अनुभवबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘ती चार वर्षको समय एकदमै बर्बाद भयो । राजनीतिक रूपमा मैले त्यो समय खेर फाले जस्तो भयो।’ उनले आफ्नो ८ महिने मन्त्री कार्यकालबाहेक बाँकी समय कुनै राजनीतिक काम (बिजनेस) नभएको र छटपटीमा बितेको बताइन्।
विगतको आफ्नो आक्रामक ‘फायर ब्रान्ड’ छविमाथि आत्मालोचना गर्दै झाँक्रीले उमेर र अनुभवले आफू परिपक्व भएको दाबी गरिन्।
‘अहिले हेर्दा अभिव्यक्तिमा केही न केही लगाम त आफैंले लगाउनुपर्ने रहेछ । उमेर पनि ४० प्लस भयो,’ उनले भनिन्, ‘राज्यले कानुन बनाएर गर्ने सेन्सरसिपभन्दा लोकतन्त्रमा आफ्नो सेन्सरसिप नै सबैभन्दा मजबुत हुँदोरहेछ।’
उनले नेकपा एकीकृत समाजवादीको आन्तरिक संरचना र कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरिन्। पार्टीको विधान नै प्रतिगामी रहेको र नेतृत्वमा ६५ वर्षभन्दा माथिका नेताहरूको बाहुल्यताले युवा पुस्तालाई कुनै ठाउँ नदिएको उनको आरोप छ। आफूले अर्को पार्टीमा रहँदा पनि केपी शर्मा ओलीलाई नै नेता मानेको उनको भनाइ थियो।
प्रकाशित: २७ कार्तिक २०८२ ०७:४९ बिहीबार





