डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ।
सिरहामा पार्टीका केन्द्रीय पदाधिकारीसहित चार जना नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
मंगलबार एक सामूहिक राजीनामा पत्र सार्वजनिक गर्दै उनीहरूले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्।
पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय कार्यकारिणी समिति सदस्य रानीकुमारी पासवान, केन्द्रीय सदस्यद्वय रामेश्वर यादव र जागेश्वर यादव तथा जिल्ला समिति सदस्य हरिकिशोर पासवान रहेका छन्।
राजीनामा दिने चारै जना नेताहरू सिरहा क्षेत्र नम्बर-४ अन्तर्गत मिर्चैया नगरपालिकाका स्थानीय बासिन्दा हुन्।
पार्टी अध्यक्ष डा. सीके राउतलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा नेतृत्व र पार्टी सञ्चालन पद्धतिमाथि आपत्ति जनाइएको छ। उनीहरूले पार्टी स्थापनाकालीन विचार र सिद्धान्तबाट विचलित भएको निष्कर्ष निकालेका छन्।
राजीनामा पत्रमा भनिएको छ, ‘पार्टीभित्र चरम जातिवाद हावी भएको छ। गैरराजनीतिक व्यक्तिहरूको हालिमुहाली र वर्चस्व बढेकाले हामीले आजकै मितिदेखि लागू हुने गरी सामूहिक राजीनामा दिएका छौं।’
प्रकाशित: २० माघ २०८२ २१:५३ मंगलबार





