३० भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

ज्यान मार्ने उद्योग आरोप लागेका रास्वपा पूर्वनगरसभापति सिंहले गरे आत्मसमर्पण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महोत्तरीस्थित पूर्वनगरसभापति रोमनप्रताप सिंहले ज्यान मार्ने उद्योगसम्बन्धी उजुरीमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

सिंहले मंगलबार फेसबुक लाइभमार्फत आफू प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी गराएलगत्तै जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेर आत्मसमर्पण गरेका हुन्। प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वभार प्रसाद साहका अनुसार सिंह आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। अनुसन्धान अघि बढाउन सरकारी वकिल कार्यालयबाट तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

यसअघि सिंहलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य हरि ढकालसहितका पार्टी कार्यकर्ताले अवरोध गरेका थिए। कार्यकर्ताको विरोधपछि प्रहरी टोली सिंहलाई नियन्त्रणमा नलिई फर्किएको थियो।

त्यसपछि सिंहले सामाजिक सञ्जालमार्फत आफू प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए।

नगर अधिवेशनमा भएको झडपपछि मुद्दा

सिंहमाथि गत जेठ १७ गते मनरा सिस्वा नगरपालिकामा भएको रास्वपाको नगर अधिवेशनका क्रममा भएको झडपलाई लिएर ज्यान मार्ने उद्योगको आरोप लागेको हो।

नगर अधिवेशनका क्रममा रास्वपाकै दुई समूहबीच विवाद बढेपछि झडप भएको थियो। तत्कालीन नगरसभापति रहेका सिंहले आफ्नो पक्षका कार्यकर्ता परिचालन गरी असन्तुष्ट समूहका सदस्यलाई कुटपिट गराएको आरोप उजुरीमा लगाइएको छ।

झडपमा मनरा सिस्वा नगरपालिकाका सतीशकुमार कापरसहित पाँच जना घाइते भएका थिए। कापरको जाहेरीका आधारमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो।

महोत्तरी जिल्ला अदालतले गत साउन ४ गते सिंहलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिँदै पक्राउ पुर्जी जारी गरेको थियो। सोही पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।

प्रकाशित: ३० भाद्र २०८३ १९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App