पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबार क्षेत्रको अवलोकन गरेकी छन्।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै प्रवेश गरेर प्रर्दशकारीले आगजनी गरेपछि भएको क्षतिको अवस्था बुझ्न पूर्वराष्ट्रपति भण्डारी आइतबार सिंहदरबार पुगेकी हुन्।
उनले आगजनीबाट ध्वस्त भएका संरचना र ऐतिहासिक महत्वका भवनहरूमा पुगेर क्षतिको प्रत्यक्ष निरीक्षण गरिन्। अवलोकनका क्रममा उनले राज्यको सम्पत्तिमाथि भएको क्षतिप्रति दुःख व्यक्त गरेको उनी निकट स्रोतले जनाएको छ।
क्षतिग्रस्त क्षेत्रको अवलोकन लगत्तै पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति सुरक्षा र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका विषयमा छलफल भएको बताइएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले घटनाको छानबिन प्रक्रिया र पुनर्निर्माणको योजनाबारे पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी थिइन्।
गत भदौ २३ र २४ गते युवाहरूको समूहले गरेको सशक्त आन्दोलन अनियन्त्रित बन्दा सिंहदरबार परिसरमा आगजनी भएको थियो।
सुशासन र प्रणाली सुधारको माग राख्दै सडकमा उत्रिएका युवाहरूको भीड सिंहदरबार पसेपछि थुप्रै सरकारी कार्यालय र भौतिक संरचनामा क्षति पुगेको थियो।
अहिले सरकारले सिंहदरबारको सुरक्षा व्यवस्था कडा पार्दै पुनर्निर्माणको काम अघि बढाइरहेको छ।
सबै तस्बिर: विजय राई/नागरिक




















प्रकाशित: २१ मंसिर २०८२ १५:१३ आइतबार





