१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा

प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका छन्।

बिचौलियाको प्रभावमा ल्याइएको बजेटप्रति असन्तुष्ट पूर्वमन्त्री थापा हतारमा बजेट पारित हुन नहुने पक्षमा थिए। बजेट पारित भएपछि असन्तुष्टि जनाउँदै थापाले मंगलबार साँझ नै सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामापत्र बुझाएका हुन्। सभामुख भण्डारीले भने उनको राजीनामा अझै स्वीकृत गरेका छैनन्।

मंगलबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्ने सूचीमा नाम भए पनि थापा अनुपस्थित रहेको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट थापा प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरणमा बनेको प्रदेश सरकारमा उनी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए। यसअघि असार १ गते तत्कालीन आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले प्रस्तुत गरेको बजेटको विषयमा विवाद उत्पन्न भई सत्तागठबन्धन टुटेपछि उनी पदमुक्त भएका थिए।

बजेटकै विवादको पृष्ठभूमिमा बनेको नेकपा र नेकपा एमालेबीचको समीकरणमा बनेको सरकारले ल्याएको बजेटमा पनि बिचौलियामार्फत कमिसन लिएर योजना बेचिएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले चर्को असन्तुष्टि जनाएका छन्। प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र सत्तापक्षकै केही सांसदसमेत अनुपस्थित रहेको मंगलबारको प्रदेशसभा बैठकपछि पूरक बजेट ल्याउने गरी प्रस्तुत बजेट पारित गरिएको थियो।

बिचौलियामार्फत कमिसन लिएर योजनाको बेचबिखन भएको भन्दै सत्तापक्षकै सांसदहरूले चर्को विरोध गरेपछि बजेटमाथि अध्ययन गर्न सात सदस्यीय संसदीय समिति गठन गर्ने निर्णय गरिएको थियो।

प्रदेशसभा बैठकमा बजेटका विषयमा अध्ययन गरी कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने गरी सात सदस्यीय दलीय संसदीय समिति गठन गरिने र उक्त समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइने निर्णय सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा सुनाएका थिए।

बिचौलियामार्फत योजनाको खरिदबिक्री भएको भन्दै प्रदेशसभा बैठकमा प्रस्तुत बजेटमाथि छलफलसमेत नहुँदै सरकार ढलेको पृष्ठभूमिमा बनेको नयाँ सरकारले अढाई महिनापछि ल्याएको बजेट पनि विवादमा परेको हो।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि आइतबार प्रदेशसभा बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

प्रकाशित: २८ आश्विन २०८३ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App