४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नर्वेको भ्रमणका क्रममा विभिन्न कार्यक्रममा व्यस्त भएका छन्।

उनी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नर्वेमा चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन र शैक्षिक सहकार्यलगायत विषयमा भेटघाट र छलफल गरिरहेका छन्।

मन्त्री शाहीसँगै रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा नरेश सुवेदीले मन्त्री शाही नेतृत्वको टोलीले युनिभर्सिटी अफ इन्ल्यान्ड नर्वेका प्राध्यापक मोर्टेन ओडेनको आतिथ्यतामा ओप्पडालस्थित वाइल्ड रेनडियर सेन्टर र आर्कटिक फक्स प्रजनन केन्द्रको अवलोकनसमेत गरेको बताए।  

त्यस अवसरमा नर्वेमा सफल ‘आर्कटिक फक्स पुनःस्थापना कार्यक्रम’ र ‘रेनडियर पारिस्थितिकीय पद्धति’बारे विज्ञहरूले जानकारी गराएको उनले जानकारी दिए।  

कोषका अध्यक्षसमेत रहेका मन्त्री शाहीले पाँचवर्षे नोरपार्ट परियोजनाका उपलब्धिहरूको समीक्षा पनि गरेका थिए। यस परियोजनाले काठमाडौं विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा नेपाली र नर्वेजियन विद्यार्थीलाई अध्ययन–अनुसन्धानमा जोड्दै आएको छ। हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधी अध्ययनरत छन्।

भ्रमणका दौरान मन्त्री शाही र नर्वेका विदेश मन्त्रालय तथा जलवायु तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरूबीच पनि भेटवार्ता भएको थियो। त्यस अवसरमा भविष्यका सहकार्य, क्षमता विकास र नेपालमा संरक्षण परियोजनाहरूका लागि वित्तीय सहयोग विस्तारबारे छलफल भएको थियो।

नर्वेजियन विकास सहयोग संस्था नोराडसँग दीर्घकालीन संरक्षण पहलहरूबारे छलफल भएको कोषका सदस्य–सचिव सुवेदीले बताए। भ्रमणले नेपाल–नर्वे सम्बन्धलाई संरक्षण र अनुसन्धानका क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। शुक्रबार त्यसतर्फ प्रस्थान गरेका मन्त्री शाही आज स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: १५ श्रावण २०८२ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App