नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको विदेश नीतिमाथि प्रश्न उठाएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले सेप्टेम्बर १२-१३ मा भारतको नयाँ दिल्लीमा भएको ब्रिक्स शिखर सम्मेलन र दुई साताअघि किर्गिस्तानको बिस्केकमा सम्पन्न सांघाई सहयोग संगठनको शिखर सम्मेलनबाट नेपाल बेखबरजस्तै रहेको बताएका हुन्।
बदलिँदो विश्व शक्ति सन्तुलनमा ब्रिक्स र सांघाई सहयोग संगठन महत्वपूर्ण संरचना भएको बताउँदै उनले यस्ता संरचनाबाट नेपालले लाभ लिन सक्ने सम्भावनाबाट विमुख हुनु गलत भएको बताएका छन्।
ज्ञवालीका अनुसार छिमेकमै भइरहेको ब्रिक्स शिखर सम्मेलनमा नेपाल आमन्त्रित नहुनु खट्किने विषय हो। ‘हामीले वास्ता गरेनौँ कि उनीहरूले उपेक्षा गरे, थाहा छैन,’ उनले लेखेका छन्। उनले पछिल्लो एक वर्षदेखि नेपालको परराष्ट्र नीति ‘दिग्भ्रम र अलगाव’को दिशामा उन्मुख देखिएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाह आफ्नै ‘अटिच्युड’ र ‘स्तर मिल्ने प्रोटोकल’को भुलभुलैयामा रहेको उनको आरोप छ।
संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी-७७ प्लस चीन, एसियाली सहयोग संवाद, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासजस्ता संरचना प्रभावहीन बन्दै गएको अवस्थामा ब्रिक्स र सांघाई सहयोग संगठन नेपालका लागि उपयोगी हुन सक्ने ज्ञवालीले बताएका छन्।
तीव्र रूपमा बदलिँदो भूराजनीतिक परिस्थितिमा अलगावको नीतिले नेपाललाई कुनै लाभ नदिने उनको तर्क छ।
प्रकाशित: २८ भाद्र २०८३ १६:३५ आइतबार





