२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको १५औँ महाधिवेशन: इतर समूहको निर्वाचन समिति संयोजकमा पोखरेल

शेखर कोइराला एकताको अडानमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ।

पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकिएको हो। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका छन्।

महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी पोखरेललाई दिइएको बताइएको छ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ।

इतर समूहले महाधिवेशनलाई मर्यादित, पारदर्शी र निष्पक्ष ढङ्गले सम्पन्न गराउन निर्वाचन समितिको भूमिकालाई महत्वपूर्ण मानेर संयोजक चयन गरेको जनाएको छ।

यसैबीच महाधिवेशनको तयारी अघि बढिरहेका बेला नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम गरेर हुने महाधिवेशनबाहेक अन्य कुनै प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्। इतर समूहले केन्द्रीय निर्वाचन समिति संयोजकमा पोखरेललाई जिम्मेवारी दिएलगत्तै कोइरालाको यस्तो धारणा सार्वजनिक भएको हो।

कोइरालाले कांग्रेस विभाजित अवस्थामा महाधिवेशनमा जानु पार्टीका लागि हितकर नहुने बताउँदै पार्टीभित्रको विवाद समाधान गरेर सबै पक्षलाई समेट्ने गरी एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले पार्टी विभाजन वा एकअर्कालाई निषेध गरेर अघि बढ्नुको सट्टा एकताको सन्देशसहित देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। उनका निकटवर्तीका अनुसार कोइरालाले पार्टी एकताका लागि निरन्तर प्रयास जारी राख्ने बताएका छन्।

प्रकाशित: २८ भाद्र २०८३ १७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App