३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसमा एकता कायम गर्न इतर पक्षका पाँच प्रस्ताव

फाइल तस्बिर

नेपाली कांग्रेसभित्र पार्टी एकता कायम गर्दै १५औँ महाधिवेशनको तयारीलाई सहमतिका साथ अघि बढाउने उद्देश्यले इतर पक्षले पाँचबुँदे प्रस्ताव अघि सारेको छ। प्रस्तावमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, कार्यसम्पादन समिति गठन गर्ने, महाधिवेशनको कार्यतालिका घोषणा गर्ने तथा क्रियाशील सदस्यताको विवाद समाधान गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

इतर पक्षको पहिलो प्रस्तावअनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गरी सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, दोस्रो प्रस्तावमा सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने माग गरिएको छ, जसबाट पार्टी सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरिएको छ।

तेस्रो प्रस्तावमा पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। यसले महाधिवेशनको तयारीलाई समयमै अघि बढाउने र पार्टीभित्र अन्योल हटाउने अपेक्षा गरिएको छ।

चौथो प्रस्तावमा भने महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्नुपर्ने सुझाव दिइएको छ।

यस्तै, पाँचौँ तथा सबैभन्दा महत्वपूर्ण प्रस्ताव क्रियाशील सदस्यताको व्यवस्थापनसँग सम्बन्धित छ। प्रस्तावमा १५औँ महाधिवेशनको आधार क्रियाशील सदस्यता भएकाले यस विषयमा पुनः विवाद सिर्जना हुन नदिन वर्तमान सभापति गगनकुमार थापा तत्कालीन महामन्त्री रहँदा संयोजकत्व गरेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई स्वतः १५औँ महाधिवेशनमा सहभागी हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

साथै, ती सदस्यहरूको डिजिटल इन्ट्री गर्दै जाने तर त्यसलाई ‘नवीकरण’ को नाममा महाधिवेशनमा सहभागी हुन पाउने वा नपाउने विषयसँग नजोड्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ।

इतर पक्षले यी पाँच प्रस्तावलाई पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्दै सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्ने साझा आधारका रूपमा अघि सारेको जनाएको छ।

 

प्रकाशित: ३ श्रावण २०८३ १८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App