नेपाली कम्युनिस्ट पार्टी जुम्लाले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ।
बुधबार बसेको बैठकले संगठनात्मक मूल्यांकन, राजनीतिक योगदान र स्थानीय जनसमर्थनका आधारमा उम्मेदवारको नामावली तय गरेको हो। पार्टीले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार पहिलो नम्बरमा नरेश भण्डारी रहेका छन्। दोस्रोमा दलबहादुर जिसी सिफारिस भएका छन् भने नमराज न्यौपाने, अम्मराज शाही र हरि रावल क्रमशः अन्य सिफारिस उम्मेदवार हुन्।
पार्टी स्रोतका अनुसार जुम्लामा संगठन सुदृढीकरण, जनआन्दोलनमा सक्रिय भूमिका र स्थानीय तहमा पार्टीको प्रभाव विस्तारमा योगदान पुर्याएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको छ। 'व्यक्तिगत लोकप्रियता मात्र होइन, पार्टीप्रति प्रतिबद्धता र आगामी निर्वाचनमा जित सुनिश्चित गर्न सक्ने क्षमतालाई मुख्य आधार बनाइएको छ,' जिल्ला कमिटीका एक सदस्यले भने। नेकपा जुम्लाले यसपटक निर्वाचनलाई रणनीतिक रूपमा लिएको छ।
विगतका निर्वाचनमा देखिएका कमजोरीको समीक्षा गर्दै पार्टीले आन्तरिक एकता, मतदाता केन्द्रित अभियान र स्थानीय मुद्दालाई मुख्य एजेन्डा बनाउने तयारी गरेको जनाएको छ। सिफारिस भएका उम्मेदवारहरू धाैलिघाड परियोजना, चुकेनी जलविद्युत आयोजना,तिला हाइड्रोपावर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिंजा सभ्यता विधेयक जुम्लाका दीर्घकालीन समस्यामा स्पष्ट धारणा राख्ने नेताहरू भएको पार्टीको दाबी छ।
जिल्लाबाट सिफारिस गरिएका नामहरु केन्द्रीय कमिटीमा पठाइनेछन्। अन्तिम उम्मेदवारको टुंगो पार्टीको केन्द्रीय नेतृत्वले लगाउने व्यवस्था छ। यद्यपि प्रारम्भिक सिफारिस सार्वजनिक भएसँगै जुम्लाको राजनीतिक सरगर्मी बढेको छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार नेकपाको यो कदमले जिल्लामा अन्य दलहरूलाई समेत उम्मेदवार चयनमा दबाब सिर्जना गर्ने देखिन्छ। निर्वाचन नजिकिँदै जाँदा जुम्लाको राजनीतिक प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।
प्रकाशित: ९ पुस २०८२ १८:०६ बुधबार




