२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

‘डिजिटलाइजेसन’ मार्फत भूगोल र गरिबी जित्ने अर्थमन्त्रीको मन्त्र

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको भौगोलिक जटिलता र गरिबीलाई परास्त गर्न डिजिटलाइजेसनलाई मुख्य रणनीतिक हतियार बनाइने बताएका छन्।

शनिबार आयोजित बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा बोल्दै उनले डिजिटल पूर्वाधारको विकासमार्फत मुलुकलाई विश्व बजारसँग जोडेर आर्थिक समृद्धि हासिल गर्ने बताएका हुन्।

अर्थमन्त्री डा. वाग्लेले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको अर्थतन्त्रका लागि दूरी र तौल सबैभन्दा ठूला शत्रु भएको उल्लेख गरे। उनले भने, ‘हाम्रो भूगोलका कारण सामान ढुवानीमा लाग्ने उच्च लागतले अर्थतन्त्रलाई सधैँ दबाबमा राख्यो। तर, डिजिटलाइजेसन यस्तो माध्यम हो जसले यी दुवै समस्यालाई शून्यमा झार्न सक्छ।’

भारतले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र आधार कार्डमार्फत ल्याएको परिवर्तनबाट नेपालले पाठ सिक्नुपर्ने अर्थमन्त्रीको भनाइ छ। उनले अबका दिनमा सरकार साहसी नीतिगत सुधारमा लाग्ने र कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगरी निर्मम ढंगले अघि बढ्ने बताए।

डिजिटल क्रान्तिका लागि गुणस्तरीय पूर्वाधार अनिवार्य सर्त भएको भन्दै अर्थमन्त्री डा. वाग्लेले एनसेल, नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणसँग तत्कालै नीतिगत सुधारका लागि छलफल थालिने जानकारी दिए।

आफूले विगत १२ वर्षदेखि वकालत गर्दै आएको तौल–रहित र दूरी–रहित अर्थतन्त्रको अवधारणालाई अब विभागीय मन्त्रीका रूपमा व्यवहारमा उतार्ने उनको प्रतिबद्धता छ।

अर्थमन्त्री डा. वाग्लेले सूचना प्रविधिको विकासले नै वास्तविक समावेशीकरण सम्भव हुने र यसले नेपाललाई विश्व अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १९ वैशाख २०८३ १९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App