४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

‘भगौडा’ को आरोप सामना गर्दै मिराजले भने- ‘धम्की आयो, तर आन्दोलन छाडेका छैनौं’

जेन-जी आन्दोलनको भविष्य र नेतृत्वमाथि प्रश्न उठिरहेका बेला आन्दोलनका अगुवाहरूले आफूहरू पछि नहटेको तर रणनीति परिवर्तन गरेको दाबी गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका एक प्रमुख अगुवा मिराज ढुंगानालाई एक पत्रकारले ‘भगौडा’ को संज्ञा दिँदै आन्दोलनका बेला अनुपस्थित भएकोमा प्रश्न गरेपछि माहोल तनावपूर्ण बनेको थियो।

‘तपाईंले आन्दोलनको आह्वान गर्नुभयो तर आफैँ अनुपस्थित भएर व्यापार सम्हाल्न लाग्नुभयो, के तपाईं भगौडा होइन ?’ भन्ने प्रश्नको जवाफमा ढुंगानाले आफूलाई ज्यान मार्ने धम्की आएकाले केही समय पछि हट्नुपरेको तर आन्दोलनबाट कहिल्यै विचलित नभएको सुनाए।

उनले भने, ‘मेरो ज्यानमा धेरै धम्की आयो, तर म व्यापार गरेर बसेको होइन। हामीले पर्दा पछाडिबाट काम गरिरहेका थियौँ।’

उनलाई समर्थन गर्दै डा. विश्वासले भने, ‘हामीले सयौँ युवालाई बचाएका छौँ। म आफैँ डाक्टर पेशा छाडेर क्रान्तिमा होमिएको छु। हामी भागेका छैनौँ।’

पत्रकार सम्मेलनमा जेन-जी अगुवाहरूले विभिन्न समूहमा बाँडिएको भनिएको आन्दोलनलाई एकीकृत गर्ने प्रयास भइरहेको जानकारी दिए।

डा. विश्वासले भने, ‘च्याउसरी उम्रिरहेका सबै जेनजी समूहहरूलाई एउटै छातामुनि ल्याएर एकीकृत गर्ने हाम्रो मुख्य एजेन्डा हो। हामीभन्दा सक्षम नेतृत्व आएमा हामी हस्तान्तरण गर्न तयार छौँ।’

उनीहरूले सरकारसँगको वार्ता र भावी निर्वाचनका लागि दुईवटा मुख्य ‘बटमलाइन’ अघि सारेका छन्।

पहिलो, विदेशमा रहेका नेपालीलाई मताधिकार। उनीहरूले पासपोर्टलाई नै भोटर कार्डको मान्यता दिई हुलाकमार्फत मतदानको व्यवस्था गर्न माग गरे। अर्को प्रत्यक्ष निर्वाचित कार्यकारी। देशमा स्थिरताका लागि जनताबाट प्रत्यक्ष रूपमा चुनिएको कार्यकारी प्रमुख हुनुपर्ने उनीहरूको अडान छ।

यी दुई माग पूरा नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने उनीहरूले प्रष्ट पारे।

अगुवाहरूले सिंहदरबार र संसद् भवनमा भएको आगजनीमा घुसपैठ भएको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने बताए। ढुंगानाले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण थियो, त्यहाँ घुसपैठ भयो। तर, यो देश बचाउने मौका फेरि आउँदैन। हामीले छातीमा गोली थाप्न तयार छौँ तर यो मुद्दा छाड्दैनौँ।’

उनीहरूले वर्तमान सरकारले आफूहरूको मागअनुसार काम गर्न नसकेको र ७८ जना सहिदको बलिदानलाई बेवास्ता गरेको आरोप लगाए। ‘हाम्रो आन्दोलन तुहिएको छैन, यसको आगो घटेको छैन,’ ढुंगानाले भने, ‘यदि हाम्रा माग पूरा भएनन् भने हामी फेरि सडकमा आउनेछौँ।’

प्रकाशित: २६ आश्विन २०८२ २०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App