पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनले धक्का खाएर लडे पनि धुलो टकटक्याउँदै पुनः नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा शनिबार पेरिस डाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सह-संयोजक नेपालले यस्तो बताएका हुन्।
इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका योद्धाहरूकै कारण कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले वर्तमान समयको चुनौतीलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए।
‘आजको अवस्थामा आइपुग्दा हामीले अलिकति धक्का त खानुपरेको छ,’ उनले भने, ‘तर, लडेपछि धुलो टकटक्याएर फेरि नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
२००६ सालमा पार्टी स्थापना भएपछि र पछि प्रतिबन्ध लाग्दा समेत तत्कालीन नेताहरूले आन्दोलनलाई जीवन्त राखेको उनले स्मरण गरे। संस्थापक नेता कर्माचार्यलाई मजदुर फाँटको जिम्मेवारी दिइएको प्रसङ्ग उल्लेख गर्दै नेपालले भने, ‘त्यतिबेला कर्माचार्यलाई मजदुर फाँट, अरू साथीहरूलाई किसान र महिला फाँटको जिम्मेवारी दिएर आन्दोलन अघि बढाइएको थियो। इतिहासका ती १०१ योद्धाहरू सक्रिय भएकैले कम्युनिस्ट आन्दोलन अगाडि बढेको हो।’
पूर्वप्रधानमन्त्री नेपालले संस्थापक नेताहरूको त्याग र ऐतिहासिक योगदानबाट प्रेरणा लिँदै आगामी दिनमा कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाएर लैजानुपर्ने बताए।
प्रकाशित: ९ श्रावण २०८३ १४:०७ शनिबार





