मुलुकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा मंगलबार उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार प्रत्यक्षतर्फ १६५ सिटका लागि दुई हजार नौ सय २५ जनाको उम्मेदवारी दर्ता भएको हो।
उम्मेदवारी दर्ता गराउनेमा दुई हजार पाँच सय ८९ पुरुष र ती सय ३६ महिला छन्। जसमा अपांगता भएका ८५ जना र पिछडिएका क्षेत्रका एक सय ३८ जना छन्। उम्मेदवारी दिनेमा ८८ प्रतिशत पुरुष र ११ प्रतिशत महिला छन्। यो तथ्यांक आयोगमा प्राप्त प्रारम्भिक विवरणमा आधारित भएकाले थपघट हुनसक्ने जानकारी भट्टराईले दिए। निर्वाचन आयोगका अनुसार बुधबार दाबी विरोधको कार्यक्रम छ।
आयोगका प्रवक्ता भट्टराइका अनुसा देशभरका १६५ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको छ। आयोगले प्रत्यक्षतर्फ सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय निर्धारण गरेको थियो।
नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै निर्वाचन क्षेत्रमा उम्मेदवार दर्ता गराएका छन्। कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। नेकपा र रास्वपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। रास्वपाले मनाङ र नेकपाले बागलुङ १ मा उम्मेदवारी दिएका छैनन्।
समकालीन राजनीतिमा चर्चामा रहेका पूर्वप्रधानमन्त्रीसमेत भएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेकपाका नेता झलनाथ खनालले उम्मेदवारी दिएनन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन्। ओलीले झापा ५, दाहालले रुकुम पूर्व, नेपालले रौतहट १ र भट्टराईले गोरखा २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
विशेष महाधिवेशनबाट तंग्रिएको कांग्रेस, एमाले, नेकपा, रास्वपा, मधेसकेन्द्रित दलका शीर्ष नेताहरुले पार्टीले तय गरेका क्षेत्रबाट उम्मेदवारी दिएका छन्। कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौं–४ छाडेर सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
सर्लाही ४ मा थापासँग कांग्रेसमा पूर्वनेता एवं हाल रास्वपामा आबद्ध अमरेश सिंहले प्रतस्पर्धा गर्दैछन्। कांग्रेस महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनीसँग एमालेका नेता ईश्वर पोखरेल, राप्रपाका नेता कमल थापाले प्रतिस्पर्धा गर्दैछन्। कांग्रेस नेता शेखर कोइरालाले मोरङ ६ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनीसँग एमालेका विनोद ढकालले प्रतिस्पर्धा गर्दैछन्। यसपटक कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले टिकट पाएनन्। मोरङ ४ बाट कांग्रेस महामन्त्री गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्।
यस पटक सबैभन्दा रोचक प्रतिस्पर्धा झापा ५ मा हुने भएको छ। सो क्षेत्रमा एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहबिच प्रतिस्पर्धा हुने भएको छ। त्यहाँ नेकपाबाट रन्जित तामाङले उम्मेदवारी दिएका छन्।
एमाले उपाध्यक्षहरू विष्णु पौडेलले रुपन्देही २, गोकर्ण विष्टले गुल्मी २ र पृथ्वीसुब्बा गुरुङले लमजुङबाट उम्मेदवारी दिएका छन्। महासचिव शंकर पोखरेलले दाङ–२ बाट, उपमहासचिवहरू लेखराज भट्टले कैलाली ४, रघुवीर महासेठले धनुषा १ बाट उम्मेदवारी दर्ता गराएका छन्।
नेकपाका संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन्। दाहाल यसपटक सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका हुन्। नेकपाका नेकपाका सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ बाट उम्मेदवारी दिएका छन्। सोही पार्टीका नारायणकाजी श्रेष्ठले सर्लाही ३, भीम रावलले अछाम १, महिन्द्रराय यादवले सर्लाही २ र वर्षमान पुन रोल्पाबाट उम्मेदवारी दिएका छन्।
रास्वपाबाट सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका छन्। पर्सा जिल्ला अदालतले सहकारी ठगी मुद्दामा मंगलबार लामिछानेसँग एक करोड धरौटी मागेको छ। उनले धरौटी बुझाएर वारेसमार्फत चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन्। रास्वपा उपसभापति डिपी अर्यालले काठमाडौं क्षेत्र ९, महामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा २ र उपसभापति स्वर्णिम वाग्लेले तनहुँ १ बाट उम्मेदवारी दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी ३ बाट उम्मेदवारी दिएका छन्। जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन्। जसपा नेपालका नेता शरदसिंह भण्डारीले महोत्तरी २ बाट र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले झापा ३ र उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं १ बाट उम्मेदवारी दिएका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं ३ बाट उम्मेदवारी दर्ता गरेका छन्। यसैगरी निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले रास्वपाको टिकटमा ललितपुर २ बाट उम्मेदवारी दिएका छन्।
नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले बारा ४ बाट उम्मेदवारी दिएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दर्ता गराएका छन्।
रुकुम पूर्वबाट कांग्रेसकी कुसुम थापा मगर र एमालेका लिलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका लखन थापाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, नेपाली कांग्रेसका डा. सुदनकुमार वली, नेकपा एमालेका गोकुल घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा र नेकपा माओवादी (विप्लव) का चुडामणि वलीले उम्मेदवारी दिएका छन्।
त्यस्तै प्युठानबाट नेकपा एमालेका सूर्य थापा, नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डा. गोविन्द पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त बैद्धिकले उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित: ७ माघ २०८२ ०६:३८ बुधबार





