पोखरासँग लामो समयदेखि पारिवारिक सम्बन्ध भएको कारण त्यहाँका शुभचिन्तकहरूबाट प्राप्त पोखराका प्राकृतिक दृश्यका फोटा तानसेनको घरस्थित बैठक कोठामा सजिएका थिए। यसैले बाल्यकालदेखि फेवाताल, फेवाबाँध, माछापुच्छ्रे लगायतका मनमोहक दृश्यहरूले गहिरो छाप छोडेका हुँदा ती सुन्दर स्थलहरूलाई नजिकबाट नियाल्ने आशा बोकेर राखेको थिएँ।
सौभाग्यवशः २०२६ फागुनमा एसएलसी सकेर बसेको समय पोखरा भ्रमण गर्ने पहिलो अवसर मिल्यो। त्यो नै मेरो जीवनमा पहिलो पटक ताल, बाँध र विद्युत् गृह प्रत्यक्ष अवलोकन गरेको क्षण थियो। अन्नपूर्ण हिमशृंखलाको छायामा शान्त र विशाल रूपमा फैलिएको फेवाताल देख्दा म रोमाञ्चित भएर केही क्षण निः शब्द उभिएको थिएँ। शान्त पानीमा आकाश, पहाड र बादलको प्रतिविम्ब देख्दा प्रकृतिले आफैंलाई ऐनामा नियालिरहेको अनुभूत हुन्थ्यो। प्रदूषणबिनाको त्यो बेलाको फेवाताल र आसपासको स्वच्छता एवं सुन्दरता स्मरणमा ताजै छ।
फेवाताल नजिकको बाँध र पावरहाउस हेरेपछि पानी कसरी ऊर्जामा परिणत हुन्छ भन्ने कुरा प्रत्यक्ष बुझ्ने अवसर मिल्यो। सन् १९६१ मा भारत सरकारको सहयोगमा निर्मित फेवा बाँध जुन ३०० मिटर लामो, ४३ फुट अग्लो र ११ वटा ढोका भएका थिए, त्यसको मुख्य उद्देश्य सिँचाइ र जलविद्युत् उत्पादन गर्ने थियो।
उक्त जलविद्युत् केन्द्रबाट १ मेगावाट विद्युत् उत्पादन हुन्छ। बगिरहेको पानीको गर्जन, पावर हाउसको धड्कन - यी सबैले मेरो किशोर मनमा गहिरो प्रभाव पारेको थियो। पाठ्यक्रममा कतै पढेको भए तापनि प्रत्यक्षतः त्यो क्षण मैले बुझें कि पानी केवल बग्ने पदार्थ होइन, यो त जीवनको शक्ति पनि हो। सायद यही सानो अनुभूतिले भविष्यमा संसारका ठुला जलविद्युत् परियोजनाहरू हेर्ने मेरो दृष्टिकोण निर्माण गरिरहेको थियो।
तीन दशकपछि सन् २००० को अप्रिल पहिलो साता एउटा औपचारिक कार्यक्रममा सहभागी हुन पश्चिम अफ्रिकाको देश घाना पुग्ने अवसर मिल्यो। त्यस समयसम्म अफ्रिकी देशहरूमा यो मेरो पहिलो भ्रमण हुँदा थुप्रै उत्सुकता पनि थियो। ऐतिहासिक रूपमा ‘सुनको देश’ भनेर चिनिने घानामा सप्ताहव्यापी कार्यक्रमको प्रायः सबै कार्यक्रम राजधानी र आसपासमा थियो भने अन्तिम दिन राजधानी अक्राबाट बाहिर राष्ट्रिय गौरवको आयोजनास्थल अकोसोम्बोमा बाँध तथा जलविद्युत् केन्द्रको स्थलगत भ्रमण तय थियो। सोअनुरूप घानाका अधिकारीहरूसँगै गाडीमा यात्रा गर्दै म नयाँ अनुभवतर्फ अग्रसर हुँदै थिएँ। उक्त बाँधपछि निर्माण भएको भोल्टा तालबारे विभिन्न सन्दर्भमा पढेको र सुनेको भए पनि प्रत्यक्ष अवलोकन गर्न पाउने अवसरले स्वाभाविक रूपमा मनमा थुप्रै कौतूहल थिए।

अक्राबाट अकोसोम्बोसम्मको करिब एक सय किलोमिटरको यात्रा साढे दुई घण्टामा पूरा भयो। तर त्यो यात्रा केवल दुरी पार गर्ने माध्यम थिएन - त्यो घानाको आत्मा बुझ्ने अवसर थियो। राजधानीको चहलपहल छोड्दै जाँदा सहरी जीवन क्रमशः हराभरा ग्रामीण भेगमा रूपान्तरण हुँदै गयो। सडकका दुवै छेउमा साना बस्ती, खेतबारी, बजार र दैनिक जीवनका दृश्यहरूले भरिएका थिए।
त्यो यात्राको एउटा अत्यन्त जीवन्त स्मृति भनेको सडक छेउमा बसेर ताजा माछा बेचिरहेको महिलाहरूको दृश्य हो। सँगै यात्रा गरिरहेका घानाका अधिकारीहरूले माछा खरिद गर्न पहिले नै तयारी गरी आवश्यक बाकसहरू गाडीमा राखेका थिए। उनीहरू हाँस्दै–रमाउँदै स्थानीय भाषामा कुराकानी गर्दै माछा किनिरहेका थिए। त्यो दृश्यले ठुलो सन्देश दिइरहेको थियो - यहाँको जीवन पानीसँग गाँसिएको छ, पानीसँगै बाँचिरहेको छ। त्यो देख्दा मैले आफ्नै देशका सडकछेउ तरकारी बेचिरहेका महिलाहरू सम्झिएँ र महिला सशक्तीकरणका यी प्रयासप्रति गहिरो सम्मान महसुस गरें।
जब हामी भोल्टा ताल नजिक पुग्यौं र अकोसोम्वो बाँधको विशाल आकृति देखापर्यो, मेरो कौतूहल पूरा हुँदै गर्दा मेरो मनभित्र हलचल पैदा भयो। म फेरि पोखराको फेवाताल किनारमा उभिएको त्यो किशोरजस्तै महसुस गर्दै थिएँ तर यसपटक दृश्य असाध्यै विशाल थियो। पोखरामा देखेको फेवाताल शान्त, कोमल र आत्मीय थियो भने यहाँ भोल्टा ताल सतह क्षेत्रफलको आधारमा संसारकै सबैभन्दा ठुलो मानव निर्मित ताल अपार र भव्य रूपमा फैलिएको थियो।
त्यो विशाल संरचनामा पुग्दा हाम्रो स्वागतार्थ त्यस योजनासम्बद्ध अधिकारीहरू त्यहाँ उपस्थित थिए। ती अधिकारीहरूले त्यो विशाल ताल, बाँध र विद्युत् गृहबारे विस्तृत रूपमा जानकारी दिनुका साथै प्रमुख स्थलहरूको स्थलगत भ्रमणसमेत गराए। कतिपय प्राविधिक पक्ष जानकारीमूलक र रुचिपूर्ण थिए।
पोखरामा मैले सानो पावर हाउस देखेको थिएँ भने अफ्रिकाकै सबैभन्दा महत्त्वपूर्ण जलविद्युत् परियोजनामध्ये एकको साक्षी बन्दै थिएँ। फेवा बाँधभन्दा चार वर्ष कान्छो घानाको दक्षिण पूर्वी भागमा अवस्थित सन् १९६५ मा भोल्टा नदीमा निर्माण गरिएको यो अकोसोम्वो बाँध घानाको मात्र होइन, सम्पूर्ण पश्चिम अफ्रिकाको आर्थिक मेरुदण्ड बनेको छ।
६६० मिटर लामो, ११४ मिटर अग्लो तथा फेदको चौडाइ ३६६ मिटर भएको यो बाँधको निर्माण उद्देश्यमध्ये जलविद्युत् उत्पादन, सिँचाइ, पानी वितरण तथा बाढी नियन्त्रण हुन्। यसबाट एकहजार मेगावाट विद्युत् उत्पादन हुने गरेको छ। यसले सिर्जना गरेको भोल्टा ताल करिब ८,५०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र यसको लम्बाइ करिब ४०० किमी छ भने तालको तह २४० फिट देखि २७८ फिटसम्म रहेको छ। घानाको कूल भूभागको ३.६ प्रतिशत यसले ओगटेको छ।
यो बाँधले केवल ताल निर्माण गरेको छैन, यसले घानाको जीवनरेखा निर्माण गरेको छ। घरहरू उज्यालो बनाउनेदेखि उद्योग सञ्चालन, कृषि सिँचाइ, जल यातायात र माछा उद्योगसम्म यसले ठुलो योगदान दिएको छ। छिमेकी देशहरू टोगो र बेनिनसम्म विद्युत् आपूर्ति गरेर यसले क्षेत्रीय सहकार्यलाई बलियो बनाएको छ।
हरिया डाँडाकाँडा, फैलिएको जलराशि र आधुनिक संरचनाहरूले अकोसोम्बो क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यसमेत बनाएका छन्। यसले घानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको छ।

यी सबै तथ्य र अनुभूतिहरू केलाउँदा एउटा स्पष्ट सूत्र देखिन्छ– फेवातालको शान्त किनारदेखि भोल्टा तालको विशाल विस्तारसम्म, पोखराको सानो पावर हाउसदेखि घानाको महादेशीय ऊर्जा केन्द्रसम्म। कथा एउटै हो - पानीलाई जीवन, उज्यालो र प्रगतिमा रूपान्तरण गर्ने मानव प्रयास।
घाना ‘सुनको देश’ भनेर चिनिन्छ। १५औं शताब्दीमा पोर्तुगालीहरू यहाँ आइपुग्दा सुनको अत्यधिक प्रचुरता देखेर यसलाई ‘गोल्ड कोस्ट’ नाम दिएका थिए। तर आज भोल्टा तालको किनारमा उभिँदा मलाई लाग्यो, घानासँग अब अर्को प्रकारको सुन पनि छ -तरल सुन अर्थात् पानी।
जसरी नेपाल आफ्ना नदीहरू प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्ने प्रयासमा छ, त्यसैगरी घानाले भोल्टा नदीलाई बाँधेर आफ्नो भविष्य निर्माण गरेको छ। देश फरक, महादेश फरक, आकार फरक तर आकांक्षा एउटै - प्रकृतिको वरदानलाई राष्ट्रको शक्ति बनाउने।
अक्राबाट अकोसोम्वोको यात्रा केवल भौगोलिक दुरी पार गर्ने यात्रा थिएन, त्यो इतिहास, वर्तमान र भविष्यलाई जोड्ने अनुभूतिको यात्रा थियो। कहिल्यै ‘सुनको देश’ भनेर चिनिएको घाना आज पनि उज्यालो छ तर अब त्यो उज्यालो केवल धरतीभित्रको सुनबाट होइन, पानीको स्वर्णशक्तिबाट झल्किरहेको छ।
सडकछेउ माछा बेचिरहेकी महिलादेखि भोल्टा तालको अपार विस्तारसम्म हरेक दृश्यले यही सन्देश दिन्छ - जब प्राकृतिक सम्पदाको विवेकपूर्ण उपयोग गरिन्छ, तब त्यसले विगतलाई सम्मान गर्छ, वर्तमानलाई सशक्त बनाउँछ र भविष्यलाई उज्यालो पार्छ।
प्रकाशित: ९ फाल्गुन २०८२ ०८:२५ शनिबार





