२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिसको उपाधि त्रिभुवन आर्मी क्लबलाई

पुरुषतर्फ प्रदिप र महिलातर्फ सिभाली च्याम्पियन

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको 'प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३' को चौथो संस्करण सम्पन्न भएको छ। 

जङ्गी अड्डामा आयोजित एक विशेष समापन समारोहका बीच प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन भएको हो। यस वर्षको प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब समग्रमा च्याम्पियन बन्न सफल भएको छ। 

त्यसैगरी, प्रतियोगिताको सर्वाधिक प्रतिष्ठित विधा पुरुष एकलतर्फ प्रदिप खड्का र महिला एकलतर्फ सिभाली गुरुङ्गले उपाधि चुमेका छन्। जङ्गी अड्डामा आयोजित समापन समारोहमा मुख्य अतिथि प्रधान सेनापति सिग्देलले च्याम्पियन आर्मी क्लब तथा विजेता खेलाडीद्वय खड्का र गुरुङ्गलाई ट्रफी एवं प्रमाणपत्र प्रदान गरेका हुन। समारोहमा अन्य विभिन्न विधाहरूमा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो।

गत ज्येष्ठ ४ गतेदेखि सुरु भएको यस प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टहरूमा सञ्चालन गरिएको थियो। ९ दिनसम्म चलेको यस राष्ट्रिय प्रतियोगितामा देशभरका १२ वटा प्रतिष्ठित क्लबका २१८ जना खेलाडीहरूले १३ वटा विभिन्न विधामा उपाधिका लागि कडा प्रतिस्पर्धा गरेका थिए।

समापन समारोहमा बलाधिकृत, नेपालका तीनवटै सुरक्षा निकायका प्रमुखहरू, रथीवृन्द, नेपाल टेनिस संघ तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ पदाधिकारीहरू सहभागी थिए। यसका साथै विभिन्न टेनिस क्लबका प्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, खेलाडीहरू तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिमा प्रतियोगिताको समापन गरिएको हो।

प्रकाशित: १२ जेष्ठ २०८३ १३:१२ मंगलबार