नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी आफ्नो जीवन देश निर्माणमा बिताउने घोषणा गरेका छन्।
उज्यालो नेपाल अभियान लिएर कतार पुगेका घिसिङले त्यहाँ आयोजित उज्यालो संवाद कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 'तपाईंको जुन इच्छा, आकाङ्क्षा मप्रति छ र मेरो बाँकी जीवन अब देश निर्माणका लागि प्रतिबद्ध भएर तपाईंहरू सँगसँगै अगाडि बढ्ने गरेर अगाडि बढ्छु भनेर प्रतिबद्धता सुनाउने गरी यहाँ आएको छु,' उनले भने।
अगाडि उनले भने, 'हामीले देशलाई हेर्ने हो, राज्यलाई हेर्ने हो। कुनै पार्टीलाई, व्यक्तिलाई हेर्ने होइन। यहाँ बसेर पनि तपाईंहरूले नेपाल सोच्ने हो, कुनै पार्टी सोच्ने होइन। तपाईंहरूले यो विषयलाई गम्भीर रूपले हेर्नुपर्छ। नेपालको विकासको लागि नेपाल कसरी सम्पन्न हुनसक्छ ? यहाँ नेपालमा भन्दा पनि पार्टीहरूमा विभाजन भएर तपाईंहरू नबस्नुस्, नेपालको समृद्धिका लागि जुनसुकै पार्टी आओस्, अगाडि बढ्नुपर्छ। राम्रो कुराको सपोर्ट गर्नुपर्छ, राम्रो मान्छेलाई सपोर्ट गर्नुपर्छ र यसरी अगाडि बढ्नुपर्छ। नकि तपाईं एउटा पार्टीको व्यक्ति, यो मान्छे त्यो पार्टीको व्यक्ति; त्यसो होइन।'
उज्यालो नेपाल अभियान लिएर यसअघि उनी बहराइन, यूएई र ओमन पुगिसकेका छन्।
प्रकाशित: २९ असार २०८२ २२:१० आइतबार

