१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

भीम रावलले भने- ‘इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथिको घात हो

फाइल।

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता नवीकरण गर्ने तयारीप्रति आपत्ति जनाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता रावलले म्याद सकिएको सम्झौता पुनः थप्ने कार्य राष्ट्रियता र जनतामाथिको घात हुने टिप्पणी गरेका हुन्।

रावलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी ‘डेकाटोर’ सँगको सम्झौता म्याद सकिएपछि पनि थप्न लागेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यस्तो सम्झौताको म्याद सकिँदा फेरि म्याद थप्ने वर्तमान अन्तरिम सरकारले निर्णय गरेमा त्यो नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको घात ठहरिनेछ।’

डा. रावलले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी सम्झौताको विरोध गर्नुका पछाडि मुख्य तीन कारण औँल्याएका छन्। उनका अनुसार सो सम्झौताले नेपाली नागरिकका व्यक्तिगत विवरणहरू विदेशी कम्पनीको हातमा पुग्ने खतरा रहन्छ।

साथै, देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने संवैधानिक व्यवस्था विपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गरिएको प्रति पनि उनले आपत्ति जनाए।

यसैगरि, अत्यन्तै महँगो शुल्क तोकेर नेपाली जनतामाथि आर्थिक लुट मच्चाएको उनको आरोप थियो।

विगतमा पनि यो सम्झौताको संसद र सडकबाट चौतर्फी विरोध हुँदै आएको स्मरण गराउँदै रावलले जनविरोधी सम्झौतालाई निरन्तरता नदिन सरकारलाई सचेत गराएका छन्।

प्रकाशित: १८ मंसिर २०८२ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App