फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्यका १९ सिटमध्ये १८ का लागि आइतबार भएको निर्वाचन परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक परिणामअनुसार सबै सिटमा नेपाली कांग्रेस–एमाले–तत्कालीन लोसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अहिले जनता समाजवादी पार्टी (जसपा) मा एकीकृत भइसकेको छ।
नेपाली कांग्रेसमा शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खडका उपसभापति हुँदा कांग्रेस, एमाले र तत्कालीन लोसपाबिच राष्ट्रियसभा सदस्य निर्वाचनका लगि गठबन्धन भएको थियो। यो निर्वाचनबाट राष्ट्रियसभामा कांग्रेसका ९, एमालेका तीन र तत्कालीन लोसपा हाल जसपाका एक सदस्य थपिएका छन्। बाँकी एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन्।
निर्वाचन परिणामअनुसार राष्ट्रियसभामा कांग्रेस २५ सिटसहित पहिलो ठुलो दल भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यो निर्वाचनमा कुनै सिट नजिते पनि ऊ राष्ट्रियसभामा दोस्रो ठुलो दल बनेको छ।
राष्ट्रियसभामा नेकपाका १८ सदस्य कायम छन्। त्यस्तै एमाले ११ सदस्यसहित तेस्रो ठुलो दल बनेको छ। राष्ट्रियसभा ५९ सदस्यीय हुने संवैधानिक व्यवस्था छ। जसमा तीन सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत र अन्य निर्वाचित हुन्छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख÷अध्यक्ष र उपाध्यक्षले राष्ट्रियसभा सदस्य चुन्ने व्यवस्था छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशमा मतदान भएको थियो। मतदान सकिएको केही घण्टामै नतिजा सार्वजनिक भएको हो। घोषित निर्वाचन परिणामअनुसार कोसी प्रदेशबाट कांग्रेस–एमाले–तत्कालीन लोसपा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा तथा एमालेका उम्मेदवार रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन्। थापा निर्विरोध भएका हुन्।

त्यस्तै मधेस प्रदेशबाट कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान र रञ्जित कर्ण, तत्कालीन लोसपाका उम्मेदवार ८३ वर्षीय महन्थ ठाकुर र एमाले उम्मेदवार रेखाकुमारी झा विजयी भएका छन्। बागमती प्रदेशबाट कांग्रेस उम्मेदवार गीता देवकोटा र एमाले उम्मेदवार डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन्।

गण्डकी प्रदेशबाट एमाले उम्मेदवार सम्झना देवकोटा र कांग्रेस उम्मेदवार जगत तिमिल्सिना विजयी भएका छन्। लुम्बिनी प्रदेशबाट कांग्रेस उम्मेदवार वासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमाले उम्मेदवार रामकुमारी झाँक्री निर्वाचित भएका छन्। कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेका मीनासिंह रखाल निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट एमाले उम्मेदवार लीलाकुमारी भण्डारी र कांग्रेस उम्मेदवार खम्मबहादुर खाती विजयी भएका छन्।
.jpg)
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढीमा मतदान केन्द्र तोकिएको थियो।
प्रकाशित: १२ माघ २०८२ ०६:५५ सोमबार





