एमाले निकट नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले दललाई निषेध गरेर निर्वाचन नहुने दावी गरेका छन् ।
निर्वाचनको वातावरण वर्तमान परिस्थितिमा सम्भव नभएको बताउँदै उनले निषेध, घेराबन्दी र हिंसाबाट देश अस्थिर दिशामा धकेलिएको बताए।
‘जेन–जीका नाममा गठन भएको सरकारले जेन–जीलाई देखाएर देशभर हिंसा भड्काइरहेको छ। यो रोकिएन भने ठूलो क्षति हुन्छ,’ बस्नेतले भने ।
हाल ‘जेन–जी’ नाममा भड्किएको अवस्थाको आलोचना गर्दै अवस्था सुधार्न सरकारलाई चेतावनी दिएका छन् ।
बस्नेतले देशभर हिंसात्मक गतिविधि र सामाजिक अराजकता फैलिने जोखिम बढेको बताउँदै त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै काँधमा पर्ने दावी गरे ।
बस्नेतले सरकारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भने, ‘हिंसात्मक घटना मच्चाउने, सामाजिक अराजकता फैलाउने, जेन–जीका नाममा उत्पात मच्चाउनेविरुद्ध देशव्यापी प्रदर्शन गर्न निर्देशन जारी गर्छौं।’ उनले नेकपा एमाले लोकतान्त्रिक मूल्यमा आस्था राख्ने र हिंसाको न त चाहना न सहन क्षमता रहेको जोड दिए।
बस्नेतले सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिनुपर्ने दायित्व पूरा गर्न नसकेको आरोप लगाउँदै भने, ‘हामी शान्तिपूर्ण रूपमा जनताका काममा खटिरहेका छौँ। जनताको सुरक्षाको ग्यारेन्टी राज्यले दिनुपर्छ। अहिले जति एमालेलाई लक्षित गरेर आक्रमण भइरहेको छ, यसले हिंसा निम्त्याउँछ। त्यस्तो घटना भयो भने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ।’
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उनले २४ घण्टाभित्र राजीनामा दिन चुनौती दिए। ‘सरकारले जनतालाई पाउनु पर्ने नैसर्गिक अधिकारसहितको सुरक्षित वातावरण दिन सक्दैन भने प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ,’ उनले भने ।
प्रकाशित: ३ मंसिर २०८२ १७:५७ बुधबार





