नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई नै ‘जनमत संग्रह’ को रूपमा व्याख्या गरेका छन् । नेपालगन्जको त्रिभुवनचोकमा आयोजित नेकपाको एकता सन्देशसभालाई सम्बोधन गर्दै जनताले निर्वाचनमार्फत नै आफ्नो राजनीतिक दिशा स्पष्टरूपमा चुन्न सक्ने भएकाले अर्को जनमत संग्रहको आवश्यकता नरहेको उनले स्पष्ट पारे ।
राजावादी शक्तिहरूले उठाइरहेको हिन्दु राज्य र राजसंस्थाका विषयमा छुट्टै जनमत संग्रहको माग गर्दै आएको परिपेक्षामा उनको यस्तो धारणा आएको हो । बस्नेतले राजनीतिक स्थायित्व र सुधारका नाममा ‘पुरानालाई गाली गरेर नयाँ मात्र चाहियो’ भन्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे ।
उनका अनुसार समस्याको समाधान व्यक्तिमाथि दोष थोपर्ने होइन, नीति, कार्यक्रम र विचारको स्पष्टता र योग्यता प्रस्तुत गर्ने हो । ‘अरूलाई दोषी देखाएर योग्यताको मापन हुँदैन,’ उनले भने, ‘सुधारको स्पष्ट दृष्टिकोण बिना ‘नयाँ’ को हतारोले देशलाई समाधानभन्दा समस्यातिर धकेलिदिन्छ ।’
उनले सामाजिक न्याय र सुशासनका एजेन्डा जनताको वास्तविक भावना हो भन्दै नेकपा त्यही भावनाको रक्षा र पूर्णता दिन तयार रहेको दाबी गरे । जनताको आवश्यकताअनुसार सत्ता संयन्त्र र राजनीतिक अभ्यासलाई सन्तुलनमा ल्याउन आगामी निर्वाचन निर्णायक मोड साबित हुने टिप्पणी गरे । उनका अनुसार निर्वाचन नै जनताको प्रत्यक्ष मत अभिव्यक्तिको माध्यम भएकाले लोकतन्त्रलाई सुदृढ बनाउन त्यसैलाई सम्मान गर्नु जरूरी छ ।
प्रकाशित: २५ मंसिर २०८२ १७:१८ बिहीबार





