राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको विद्यमान संकट समाधानका लागि राजासहितको सर्वपक्षीय बैठक अनिवार्य रहेको बताएका छन्।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी ५ बुँदे ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले केवल चुनावले मात्र अहिलेको समस्या समाधान नहुने जिकिर गरे।
प्रधानमन्त्रीसँगको भेटमा लिङ्देनले देशलाई दीर्घकालीन निकास दिन सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने प्रस्ताव राखेको जानकारी दिए।
उनले भने, ‘अहिले हुने चुनाव मात्र समस्याको समाधान होइन। त्यसकारण राजा, राजनीतिक दल, जेनजी लगायत सरोकारवाला समूहहरूको एउटा सर्वपक्षीय बैठक बसोस् र देशलाई एउटा दीर्घकालीन निकास दिइयोस्।’

उनले अहिलेको सरकार केवल २०८४ को चुनावलाई २०८२ मा गराउनका लागि मात्र नबनेको भन्दै ठूलो आन्दोलन र बलिदानपछि बनेको सरकारले देशका जल्दाबल्दा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
लिङ्देनले पछिल्लो जेनजी आन्दोलनका क्रममा सहभागी भएकै आधारमा मानिसहरूलाई पक्राउ गर्ने र दुःख दिने काम तत्काल रोक्न सरकारसँग माग गरे।
‘जेनजी आन्दोलनका प्रमुख मानिसहरू वा त्यसका पक्षधरलाई सिंहदरबार प्रवेश गर्न नदिने, उनीहरूको कुरा नसुन्ने र लछारपछार गर्ने काम बन्द गरियोस्,’ उनले भने, ’उनीहरूको कुरा सुनेर सरकारले सम्बोधन गर्नुपर्छ।’
साथै, उनले जेनजी आन्दोलनका घाइते र सहिद परिवारको समस्यालाई उपेक्षा नगर्न पनि चेतावनी दिए।
प्रकाशित: १३ मंसिर २०८२ २१:३९ शनिबार




-600x400.jpg)
