गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि इलामको पनि समग्र राजनीतिक वातावरण भिन्न बनेको छ। करिब ३ दशकयता निरन्तर नेकपा एमाले र नेपाली कांग्रेसले जिल्लाको नेतृत्व सम्हालिरहेका छन्।
२०६४ साल र त्यसपछिका निर्वाचनमा पनि इलामका जनताले विशेषगरी एमाले र कांग्रेसलाई नै रोजिरहेका थिए। अबको निर्वाचनमा चाहिँ यी पुराना दलको अवस्था के होला? धेरैको चासो र चिन्ता यसैमा देखिन्छ। जेनजी आन्दोलनपछि पनि राजनीतिमा युवाको आशा र वितृष्णा उस्तैउस्तै देखिन्छ तर पुराना दल सुध्रिनुुपर्ने, पुराना नेताले नयाँलाई पालो दिनुपर्ने र नयाँले अवसर पाए देश परिवर्तन हुन्छ भन्ने बुझाइचाहिँ साझाजस्तै छ। पुराना दलप्रतिको निराशा र नयाँलाई पनि भरोसा गरिहाल्न सक्ने अवस्था नदेखिएकाले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम कस्तो आउँला भन्ने अनुमान अहिल्यै गर्न सजिलो छैन।
इलाममा अहिलेसम्म भएका सबै निर्वाचनमा विशेषगरी एमाले विजयी भएको छ। केही चुनावमा कांग्रेसले आंशिक विजय हासिल गरेको छ। चुनावमा भएको गठबन्धनले माओवादी केन्द्र (अहिले विभिन्न दलसँगको एकतापछि नेपाली कम्युनिस्ट पार्टी नाम राखिएको छ) पनि प्रदेश तहसम्मको नेतृत्वमा पुगिसकेको छ तर इलामका जनता आफूले यसअघि जिताएका दल र नेताप्रति पूर्ण सन्तुष्ट देखिँदैनन्। प्रायः युवापंक्ति अब युवालाई नै नेतृत्वमा देख्न चाहेको बताउँछ भने दलमा आबद्ध युवा पनि निर्वाचनमा युवालाई नै अघि सार्नुपर्ने पक्षमा छन्।
जिल्लास्थित विभिन्न क्षेत्रका व्यवसायी, पेसाकर्मी पनि अब दल र सरकारमा नयाँ नेतृत्व हुनुपर्ने बताउँछन्। सबैजसोको एउटै मत छ– पुराना दल सुध्रिनुपर्छ, युवालाई अवसर दिएर अनुभवी अग्रजहरू सल्लाहकार बन्नुपर्छ। देशलाई जाँगरिला र ऊर्जाशील युवाको खाँचो छ।
जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष तारानाथ पराजुली सरकार फेरिए पनि इलामको राजनीतिमा खासै परिवर्तन नआएको बताउँछन्। ‘जेनजी आन्दोलनपछि पनि इलाममा कांग्रेस, एमालेजस्ता दलको अवस्था पहिला जे थियो, त्यस्तै छ। नयाँ दलको पनि सशक्त प्रभाव छैन,’ उनले भने, ‘पुराना दलले पनि नयाँ कार्यक्रम ल्याउन सकेका छैनन्। अब के गर्ने भन्नेमा पुराना दल अन्योलमा छन्। मतदातामा पुराना दलप्रतिको असन्तुष्टि देखिन्छ।’ उनले अब चुनाव हुँदा पनि नयाँ उदाइहाल्छन् जस्तो चाहिँ नदेखिएको प्रतिक्रिया दिए।
पत्रकार तथा लेखक डा. देवी क्षेत्री दुलाल देशको राजनीति अन्योलग्रस्त रहेको बताउँछन्। जिल्लामा पनि त्यसको प्रभाव परेको उनको बुझाइ छ। ‘एमाले र कांग्रेस पुरानै लयमा जान्छन् भन्ने देखिन्छ,’ उनले भने, ‘अन्योल लामो समयसम्म रहँदैन, रहनु हुँदैन। ढिलोछिटो देश कांग्रेस–एमालेकै नेतृत्वमा जान्छजस्तो देखिन्छ। अहिले ध्रवीकरणको अवस्था पनि छ तर इलामका मतदाताले चाहिँ यसअघि आफूले राजेको दल छाडेका छैनन्।’ जनताले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र देश रक्षालाई नै प्राथमिकता दिएको उनले बताए।
महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहप्राध्यापक राजेन्द्र बराल पुराना दल मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्र पुरानै शैली र संरचनामा आन्तरिक गुट, उपगुट, फुट, नेतृत्व विवादमा रुमल्लिएको बताउँछन्। दलगत निष्ठा बलियो देखिए पनि नेतृत्व अस्थिर, मतदाता अलमल, युवा र मध्यम वर्गमा पुरानै शैली देखिन्छ। जेनजी आन्दोलनपछिको अवस्था र व्यवस्था दुवै नाजुक देखिन्छ। ‘अनिश्चित र अव्यवस्थित राजनीतिक तरलता, संक्रमणका कारण अब इलामले एकदुई दलको गढभन्दा पनि स्थानीय मुद्दाकेन्द्रित खुला र प्रतिस्पर्धी राजनीतिको आशा गरेको छ,’ उनले भने, ‘मुख्य भनिएका दलले अझै पनि यस्तो विषम परिस्थितिमा आन्तरिक सुदृढीकरण, सत्ता र पुस्ता हस्तान्तरणमार्फत युवालाई नेतृत्व दिन तत्परता देखाएका छैनन्। तसर्थ इलामले नयाँ पार्टीभन्दा पनि नयाँ अजेन्डा खोजेकोजस्तो लाग्छ।’
जसको व्यक्तिगत छवि र स्थानीयस्तरमा कार्यसम्पादन राम्रो छ, उसले उम्मेदवारी दिन पाए चुनावमा जनमत त्यतै पोखिने सम्भावना रहेको बताउँछन्।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगु जेनजी आन्दोलनलगत्तै पुराना दल खासगरी कांग्रेस र एमालेभित्र चरम निराशा, त्रास देखिएको तर समयक्रममा त्यो निराशा र त्रास घट्दै गएको बताउँछन्। ‘तर पुराना दलका नेता–कार्यकर्तामा विगतको जस्तो पूर्ण आत्मविश्वास देखिँदैन,’ उनले भने, ‘एमालेले पालिकास्तरमा सामान्य कार्यक्रम गरे पनि कांग्रेसले राजनीतिक गतिविधि गर्न सकेको छैन। अन्य दलले पनि सार्वजनिक कार्यक्रम गर्न सकेका छैनन्। दलका कार्यकर्ताबिच नै आफ्नै नेतृत्व र जेनजीका अजेन्डामाथि समर्थन–विरोध भइरहेको छ।’
उनले अहिले दलहरू स्पष्ट मार्गचित्र नभएर अलमलमा रहेको र समग्रमा जिल्लाको राजनीतिक अवस्था अलि बढी नै निराशाजनक देखिएको जनाए।
अधिवक्ता तारानिधि घिमिरे जेनजी आन्दोलनपछि अब सच्चिने हो, सकिने हैन भन्ने यथार्थ सबै दलले स्वीकार गरेको बताए। ‘शासनमा लोकतान्त्रीकरण गर्ने, पारदर्शिता र जवाफदेहिता ल्याउने सबैले बताइरहेका छन्। नयाँ दलले परिवर्तनको आवाज उठान गरे पनि भरोसा देखाउन सकेका छैनन्। पुराना दलप्रति असन्तुष्टि छ,’ उनले भने, ‘फेरिनुपर्ने दलहरूको चेत हो, केही फेरिएको छैन, मात्रै सरकार फेरिएको छ। इलाममा पुराना दलसहित नयाँ दल क्रियाशील छन्। जेनजी आन्दोलनबाछ सारभूत रूपमा केही परिवर्तन भएको छैन।’
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेल पुराना दलहरूको जरा बलियो नै भए पनि उनीहरूमा आन्तरिक अविश्वास, गुट, उपगुट र नेतृत्व संकट बढ्दै गएको बताउँछन्। जनताले विकल्प खोजिरहेका कारण पुराना दलको प्रभाव पहिलेभन्दा कम भएको उनको भनाइ छ।
‘पुराना दलप्रतिको जनताको असन्तुष्टि नयाँ दलका लागि अवसर हो तर नयाँको संगठनात्मक पकड कमजोर छ र उनीहरू अझ परीक्षणमै छन्,’ उनले भने। उनले समग्रमा इलाममा पुराना दलले आफ्नो आधार जोगाइरहेको तर चुनौती बढेको बताए। नयाँ शक्तिहरूले अपेक्षाकृत ऊर्जा देखाइरहे पनि विश्वसनीय संगठन निर्माण गर्न अझै बाँकी रहेको पौडेलको भनाइ छ।
गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भक्त थामीले भदौ २३ र २४ को आन्दोलनका बेला जुन परिवर्तनको आशा थियो त्यो पूरा नभएको बताए। ‘इलाममा अहिले पनि पुरानै दलको वर्चस्व देखिन्छ। नयाँ दलहरूले इलाममा खासै असर पार्छन् जस्तो लाग्दैन,’ उनले भने, ‘इलामका मुख्य प्रतिस्पर्धी दल एमाले र कांग्रेस नै हुन् अहिले पनि। जेनजी आन्दोलनले एउटा कुरामा सबैको साझा बुझाइ भएको छ, त्यो हो सबै ठाउँमा सबैले युवालाई समेट्नुपर्छ।’
थामीले जेनजीले सुशासन, रोजगारी, सामाजिक सञ्जाल खोल्नुपर्ने माग राखेको तर सञ्जाल खोल्नेबाहेक अरू समस्या ज्युँका त्युँ रहेको बताए।
अधिकारकर्मी गायत्री थेगिम जेनजी आन्दोलनपछि दलहरूमा युवा सहभागिताको कुरा अलि बढी उठ्न थालेको बताउँछिन्। जेनजी आन्दोलनपछि दलहरूमा अब सच्चिनैपर्छ नत्र धर छैन भन्ने त्रास देखिएको उनले बताइन्। ‘आन्दोलनपछि नयाँ दल आउनु स्वाभाविक नै हो। इलाममा पनि त्यसको प्रभाव पर्छ नै,’ उनले भनिन्, ‘तर पुरानालाई धेरै असर गर्छजस्तो लाग्दैन । किनभने गत वर्ष इलाम २ को उपनिर्वाचनमा देशभर नयाँ दल र उम्मेदवारको लहर र चर्चा चल्दा पनि नयाँलाई निकै थोरै भोट परेको थियो।’
थेगिमले जेनजीका माग राम्रा भए पनि आन्दोलनका क्रममा देशका सार्वजनिक संरचना ध्वस्त बनाइनु दुःखद भएको र जेनजी आन्दोलनकै बलमा बनेको सरकारले अपेक्षाअनुसार जेनजीका माग सम्बाधन गर्न नसकेको बताइन्।
राजनीतिका जानकार विष्णु काफ्ले जेनजी आन्दोलनपछि राजनीति अन्योलग्रस्त भएको बताउँछन् । ‘स्थानीय वा प्रदेश तहबाट यो अन्योल चिरिने सम्भावना छैन तर केन्द्रबाट पनि अझै चिर्न नसक्दा झन् अन्योल बढेको छ,’ उनले भने, ‘दलका तल्ला तहका नेता–कार्यकर्तामा केन्द्रीयस्तरबाटै रूपान्तरण हुनुपर्छ भन्ने सोच छ। जेनजी आन्दोलनको मागअनुसार देशमा सुधार हुनुपर्छ भन्ने उनीहरूको अपेक्षा उनीहरूकै केन्द्रीय तहबाट पूरा हुन सकेको छैन।’
काफ्लेले नयाँ दल र युवा पुस्ताले पनि आकर्षक मार्ग देखाउन नसकेको बताए । ‘इलाममा पुरानै दलको वर्चस्व अहिले पनि देखिन्छ,’ काफ्लेले भने, ‘पुराना दलप्रति असन्तुष्टि बढे पनि नयाँसँग पनि भर पर्ने, विश्वस्त हुने आधार छैन। दलहरू सुशासन र परिवर्तनमा लाग्नुपर्छ।’
पुराना दल अझै सुध्रिएनन्
मिलन भण्डारी

लोकतन्त्रमा दल चाहिन्छन्। दलहरूकै कारण जेनजी आन्दोलन भएको हो। अझै दल सुध्रिएका छैनन्। चुनावको विकल्प छैन। जेनजीको बलमा बनेको यो सरकार चुनाव गराएर जान्छ। चाहिने दलहरू नै हो, ती सुध्रिनैपर्छ, पुराना दल नयाँ ढाँचामा आउनुपर्छ। नयाँ दललाई पनि पुरानैजस्ता देख्छु। पद्धति, प्रक्रिया, संस्कार र विधिलाई पछ्याइएन भने कतै पुगिँदैन। दलहरूमा त्यही नभएर यो अवस्था आयो।
अब नेतृत्वमा नयाँ पुस्ता
सौगात मैनाली

जेनजी आन्दोलनले केही परिवर्तन होला कि भन्ने आशा छ। सकारात्मक परिवर्तनका लागि मुलुकमा बेलाबेलामा आन्दोलन भए पनि जनताको अवस्थामा सुधार आउन नसकेकाले पछिल्लो पटक जेनजी पुस्ता सडक आन्दोलनमा उत्रिएको हो। अब नयाँ पुस्ताले दल र सरकारमा नेतृत्व लिनुपर्छ। जनताको अवस्थामा परिवर्तन हुनुपर्छ। सुशासन कायम होस्, देशको विकास होस्, विदेश जान नपरोस्।
पुरानाबाट आशा छैन
जीवन चौहान

विगतमा धेरै आन्दोलन भए तर जनअपेक्षाअनुसार काम हुन सकेन। किन आन्दोलन गरिएको थियो भन्ने कुरा सत्तामा पुगेपछि बिर्सिएको छ। अहिलेको अवस्थामा पुराना दल र नेताले देशमा परिवर्तन गर्ने आशा छैन। अब नयाँले नै नेतृत्व लिनुपर्छ। निर्वाचनबाट पुराना दल नआउन् अब। जनताले कुरा नबुझे पुरानै आउन पनि बेर छैन। त्यस्तो नहोस्। पुराना दलबाटै आए पनि नयाँ अनुहार आउनुपर्छ।
विदेश जान नपरोस्
जानुका राई

निर्वाचनबाट जो आए पनि हुन्छ। त्यो जनताको असल प्रतिनिधि बन्न सक्नुपर्छ। चुनावमा भोट हाल्न मान्छे उत्साहित नै छन्। किनभने मतदाता नयाँ पनि छन्। नयाँ पार्टी पनि राम्रै लाग्छ। पुराना पार्टीले पनि गर्दैनन् भन्ने होइन। उनीहरू सुधिर्नुपर्छ, उनीहरूको सम्मान गर्नुपर्छ। परिवर्तन नयाँ पुस्ताले गर्न सक्छन् जस्तो लाग्छ। देशमा चुनाव होस्, परिवर्तन आओस्। विदेश जान नपरोस्। देशमै काम पाइयोस्।
काम गर्नेलाई भोट
लीला बराइली

जसले गाउँमा काम गर्छ, उसैलाई भोट दिने हो। देश बिग्रिन लागेको थियो। अब बन्छ भन्ने आशा छ। जेनजीले सरकारी सम्पत्ति ध्वस्त पार्नु दुःखद हो तर देश राम्रो उनीहरूले नै बनाउँछन् अब। पुराना दलले देश विकासमा जाँगर चलाएनन्। जनताको पिरमर्का जनप्रतिनिधिले बुझेनन्। अब सबै मिलेर देश बनाउनुपर्छ। दलले पनि गर्न नसक्ने होइनन् तर उनीहरू इमानदार भएनन्, अब बन्नुपर्छ।
अब कि राजा कि जेनजी
राम ढकाल

अहिले नेपाललाई नेताबाट क्यान्सर लागेको छ। स्थानीय सरकारदेखि माथिसम्म कसरी कमाउने भन्ने खेलमात्रै भइरहन्छ। देशको आर्थिक अवस्था जर्जर छ। अब चुनावबाट नयाँ सरकार बन्नुपर्छ, नयाँ मान्छे आउनुपर्छ। नयाँ नेतृत्व आएपछि मात्रै सन्तोष होलाजस्तो लाग्छ। पुराना दलभन्दा नयाँलाई रोज्नुपर्छ। अब कि राजाले कि जेनजीले देश सम्हाल्नुपर्छ। बुढा नेताले देशमा विकास गर्न सक्दैनन्।
प्रकाशित: १२ मंसिर २०८२ ०७:५९ शुक्रबार





