२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

चुनावी चर्चा: अन्याेलमा दल र मतदाता

जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा सूचीकृत हुनेमा धेरै जेनजी उमेर समूहका देखिए पनि उनीहरूलाई कार्यालयसम्म ल्याएर सहजीकरण गर्नेमा ठुला दलका कार्यकर्ता सक्रिय थिए। यसबाट दलहरू चुनावको नतिजा आफ्नो पक्षमा पार्न भित्रभित्रै लागेको बुझिन्छ।

सरकारले सुरक्षाको प्रत्याभूति गर्न सके फागुन २१ मा चुनाव हुन सक्ने एमाले गुलरिया नगर इन्चार्ज अमर खड्काले बताए। ‘जेनजीका नाममा घुसपैठ गरेर नेताका कार्यक्रम बिथोलेपछि कसरी चुनाव हुन्छ’, उनले भने, ‘सरकारले नेताहरुलाई मतदातासँग भेट गर्ने वातावरण मिलाउन सकेको छैन, सुरक्षा दिन सकेको छैन। यस्ताे अवस्थामा कसरी चुना हुन्छ?’

प्रतिनिधिसभा सदस्यका लागि बर्दियामा दुईवटा निर्वाचन क्षेत्र छन्। कुनै समय चारवटा निर्वाचन क्षेत्र थिए। विगतका परिणाम हेर्दा मतदाताले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलाई निर्वाचित गरेको देखिन्छ। पछिल्लो निर्वाचन, २०७९ मा क्षेत्र नं. २ बाट नागरिक उन्मुक्ति पार्टी विजयी भएको थियो।

वर्तमान सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन मिति फागुन २१ गतेलाई तोकेको छ। तर सरकारले चुनावको वातावरण बनाउन नसकेको नेपाली कांग्रेस बर्दियाका सभापति अरुणप्रतापसिंह राठोरले बताए। ‘चुनाव हुनुपर्छ भन्नेमा नेपाली कांग्रेस छ, चुनाव गराउने काम सरकारको हो,’ राठोरले भने, ‘आजभोलि जताततै अराजक गतिविधि देखिन्छ, अशान्तिको वातावरणमा मतदाताले कसरी स्वतन्त्र रुपमा मतदान गर्न सक्छन्। वर्तमान सरकारले तोकेको मितिमा चुनाव गराउनेमा विश्वास लागेको छैन।’

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनले देशको राजनीतिमा परिवर्तन ल्याउने आशा गरे पनि त्यसअनुसार हुन नसकेको नयाँ पुस्ता बताउँछ। पुराना दलको कार्यशैलीबाट आजित र असन्तुष्ट युवाले नयाँपनको आशामा आन्दोलनमा होमिए पनि सकारात्मक नतिजा नआएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्। जेनजीका बलमा बनेको सरकारले मूल कार्यादेश निर्वाचन भएको बताउँदै आएको छ। पुराना ठुला दलले चुनावी गतिविधि नगर्दा चुनाव फागुनमा नहुने हो कि भन्ने आंशका पनि छ। अन्ततः पुराना दल चुनावमा सहभागी हुने युवा पुस्ताको बुझाइ छ।

कतिपय दल निर्वाचप्रति सकारात्मक देखिएका छन् भने कतिपय दल सरकारले निर्वाचनको वातावरण बनाउन नसक्दा फागुनमा निर्वाचन हुनेमा संशकित छन्। सरकार भने घोषित मितिमै निर्वाचन गराउने तयारीमा जुटेको छ।

अहिले समाजमा जुन खालका गतिविधि भइरहेका छन्, त्यसले शान्ति सुरक्षामा सन्त्रास फैलिएको एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले बताए। ‘यही अवस्था कायम रहेमा कसरी तोकिएको समयमा चुनाव होला भन्ने आशंका छ,’ अधिकारीले भने, ‘अवस्था सुधार्न सरकारले प्रयत्न गर्‍यो, जिम्मेवार निकाय जिम्मेवार बन्न सक्यो र सुरक्षा संयन्त्रले उच्च मनोबलका साथ काम गर्न सकेमा भने चुनाव नहोला भन्न सकिँदैन।’

जनतासँग जाने, संगठन व्यवस्थित गर्नेलगायत पार्टीका नियमित कार्य भइरहेको उनले बताए।

तर जिल्लामा दलका नेता तथा कार्यकर्ताले देखिने गरी चुनावको तयारी गरिरहेको देखिँदैन तर भित्रभित्रै भने उनीहरू तयारीमा जुटेका छन्। दलहरूमा देखिएको दोहोरो चरित्रले तोकिएकै समयमा निर्वाचन हुन्छ या हुँदैन भन्नेमा मतदातामा पनि अन्योल देखिन्छ।

बर्दियामा तीन लाख २५ हजार मतदाताले मतदान परिचयपत्र बनाएको निर्वाचन कार्यालयका प्रमुख लालबहादुर मल्लले बताए।

अराजक स्थिति आउन दिनु हुन्न

देवेन्द्र पान्डे, अध्यक्ष, गुलरिया उद्योग वाणिज्य संघ

देवेन्द्र पान्डे, अध्यक्ष, गुलरिया उद्योग वाणिज्य संघ

दलहरुले गतिविधि गर्न नसक्दा फागुन २१ मा चुनाव हुने नहुनेमा आशंका छ। दलका नेताले मतदातालाई भेटन पाउँदैन भने चुनाव कसरी हुन्छ? चुनावको वातावरण बनाउन दलहरूबिच राजनीतिक सहमति हुनुपर्छ र सरकारले पनि त्यसमा सहजीकरण गरी सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउनुपर्छ। देशमा अराजक स्थिति आउन दिनु हुन्न। समयमै निर्वाचन नभए अराजक स्थिति आउन सक्छ। निर्वाचनमार्फत सहज तरिकाले मुलुकलाई निकास दिन चुनाव हुनुपर्छ।

समृद्धिको ढोका खोल्नुपर्छ

सुरेश पन्थ, नेकपा माओवादी

सुरेश पन्थ, नेकपा माओवादी

निर्वाचनपछि बन्ने सरकारले युवाका जायज माग सम्बोधन गर्नपर्छ। त्यसका लागि पनि चुनाव हुनुपर्छ। सरकारले सुरक्षा व्यवस्था मिलाउनुपर्छ। जेनजी पुस्ताले सुशासन कायम र भ्रष्टाचार अन्त्यका लागि आन्दोलन गरेको हो।

अब देशमा कर्मचारी र नेता सुध्रिनुपर्छ। निर्वाचनको तयारी गर्न प्रशस्त समय छ। निकास र विकासका लागि निर्वाचन जरुरी छ। निर्वाचन सफल पार्न सबैले हातेमालो गर्नुपर्छ। चुनावमा नयाँ अनुहारलाई जिताउनुपर्छ। त्यसपछि समृद्धिको ढोका खुल्छ।

सुशासन कायम गर्न चुनाव

भेषराज पौडेल, निर्माण व्यवसायी

भेषराज पौडेल, निर्माण व्यवसायी

चुनाव हुनपर्छ। अनिर्णयकोे बन्दी हुनु हँुदैन। सुशासन, स्थिरता र रोजगारी सिर्जनाका लागि नयाँ जनप्रतिनिधि आउनुपर्छ। जेनजी पुस्ताको माग सम्बोधन गर्न पनि चुनाव हुनुपर्छ।

देशमा अराजक गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गरी सरकार अघि बढ्नुपर्छ। सामाजिक विद्रोह बढिरहेको छ। जेनजीका माग पूरा हुनुपर्छ। उद्योगी–व्यवसायीले सुरक्षा अनुभूति गर्न सकेका छैनन्। एउटै व्यक्तिले लघु बित्त, बैंक, सहकारी, इन्सुरेन्स कम्पनी, दल लगायतमा नियन्त्रणमा राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

अन्योल चिरेर अघि बढ्नुपर्छ

राजेन्द्रप्रसाद धिताल, उपप्राध्यापक

राजेन्द्रप्रसाद धिताल, उपप्राध्यापक

सरकारले तोकेको मितिमा चुनाव हुन्छ भन्न सक्ने स्थिति छैन। देशलाई राजनीतिक संक्रमणबाट निकास दिन चुनाव हुनैपर्छ। जेनजीले उठाएको मुद्दा सम्बोधन गर्न पनि नयाँ जनादेशबाट सरकार बन्नुपर्छ। जिम्मेवार नागरिक चुनावको विपक्षमा जान मिल्दैन। चुनावका लागि दल चाहिन्छन्।

विशेषगरी एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिरहेको छ। यसले केही अन्योल सिर्जना भएको छ। सरकारले दलहरूलाई विश्वासमा लिएर शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्छ।

चुनाव हुने निश्चित छैन

सोम खड्का, अधिवक्ता

सोम खड्का, अधिवक्ता

बंगलादेशमा पनि जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गराउने भनेको थियो तर अहिलेसम्म भएको छैन नेपालमा पनि यो सरकारबाट तोकिएको मितिमै चुनाव हुनेमा शंका छ।

निर्वाचन डर त्रास र भयरहित वातावरणमा हुनुपर्छ। तर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जेलबाट भागेका कैदीबन्दी सम्पर्कबाहिर छन् भने प्रहरीबाट लुटिएका हतियार पनि फिर्ता भएका छैनन्। यसको असर निर्वाचनमा पर्न सक्छ। यसले गर्दा समयमै चुनाव हुनेमा अन्योल छ।

प्रकाशित: १५ मंसिर २०८२ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App