निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको मतभारको पूर्वअनुमान गरी सार्वजनिक नगर्न आग्रह गरेको छ। विभिन्न स्थानमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरूले कति मत ल्याउँछन् र कसले जित हासिल गर्छ भन्ने विषयमा सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने अभ्यास बढेको भन्दै आयोगले यस्तो कार्य नगर्न अनुरोध गरेको हो।
निर्वाचन आयोगले मतदान हुनुअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा मतदाताको स्वतन्त्र निर्णय दिग्भ्रमित हुने र यसले उम्मेदवारहरूलाई हतोत्साही बनाउने तथा प्रतिस्पर्धाको वातावरणमा खलल पुर्याउने जोखिम रहेको बताएको छ । साथै निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न सबै पक्षलाई आह्वान गर्दै प्रविधिको दुरुपयोगप्रति पनि गम्भीर बन्न आयोगको आग्रह रहेको छ ।
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी तयार गरिएका दिग्भ्रमित सामग्री सामाजिक सञ्जालमा प्रसारण भएको हुदाँ उक्त कार्य नगर्न र नगराउन समेत आग्रह गरेको छ ।
प्रकाशित: १३ फाल्गुन २०८२ १६:४४ बुधबार





