९ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसमा निर्वाचन ब्युरो, प्रारम्भिक मतदानलाई प्राथमिकता

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि प्राइमेरी (प्रारम्भिक मतदान) लाई प्राथमिकता दिने भएको छ। पार्टीले संगठनको सिफारिस, मोबाइलमार्फत हुने मतदान र सर्वेक्षणलाई उम्मेदवार छनोटको मुख्य आधार बनाउने तयारी गरेको छ।

कांग्रेसका महामन्त्री उदयशमशेर राणाले उपाध्यक्ष पुष्पा भुसालको नेतृत्वमा इलेक्सन ब्युरो गठन गरिएको जानकारी दिँदै स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी बनाइने बताए।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका कार्यसमिति पद हस्तान्तरण कार्यक्रममा आइतबार बोल्दै राणाले क्रियाशील सदस्यको मोबाइलमा एसएमएस पठाएर उम्मेदवारबारे कार्यकर्तासँग राय मागिने बताए।

उनका अनुसार स्थानीय तहका क्रियाशील सदस्यलाई मोबाइल, ह्वाट्सएपलगायत माध्यमबाट सन्देश पठाएर उम्मेदवारबारे राय मागिने छ। सम्बन्धित पालिकामा मेयर, अध्यक्ष तथा वडाध्यक्षका उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सदस्यहरूले आफ्नो मत दिन सक्नेछन्।

‘स्थानीय तहको टिकट वितरणमा तीनवटा आधार हुन्छन्। मोबाइल भोटिङ, संगठनको सिफारिस र सर्वेक्षणका आधारमा उम्मेदवार छनोट गर्छौं’, राणाले भने, ‘सम्भव भएसम्म प्रक्रियालाई पारदर्शी बनाउँछौं। मुख्य आधार प्राइमेरी नै हुनेछ।’ महानगरपालिका, उपमहानगरपालिकालगायतका स्थानमा सर्वेक्षणसमेत गरिने बताए।

‘सबै स्थानमा सर्वेक्षण गर्न सक्दैनौं। महानगरपालिकामा उम्मेदवारका लागि सर्वेक्षण गर्दछौं, उनले भने, ‘आवश्यकताअनुसार केही ठाउँमा सर्वेक्षण र संगठनको सिफारिसलाई आधार बनाइनेछ।’ महानगरपालिका जस्ता केही स्थानमा उम्मेदवार छनोटमा पार्टी नेतृत्वको पनि भूमिका रहने उनले बताए।

राणाले कांग्रेसले वैचारिक र सांगठनिक रूपमा आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। महाधिवेशनबाट पारित विषयको अध्ययन गर्दै पार्टीको वैचारिक स्पष्टता र सामाजिक रूपान्तरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘जय नेपाल भनेर मात्रै भोट आउँदैन’, उनले भने, ‘हामीले आफ्नो वैचारिक भावना स्पष्ट बनाउनुपर्छ। पार्टी सामाजिक रूपमा पनि रूपान्तरण हुन आवश्यक छ।’

उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै मुलुकको आर्थिक अवस्था जटिल बन्दै गएको बताए। सरकारले आर्थिक सुधार गर्ने अपेक्षा गरिए पनि लगानीको वातावरण बन्न नसकेको, विदेशी लगानी शून्यजस्तै रहेको र जनशक्ति तथा पुँजी विदेश पलायन भइरहेको उनको भनाइ छ।

व्यापारीहरू पनि वर्तमान अवस्थाबाट सन्तुष्ट नरहेको उल्लेख गर्दै उनले आर्थिक गतिविधि सुस्ताएको बताए। ‘व्यवसायी पैसा समाएर बसेका छन्। लगानी भएको छैन। जनशक्ति र पैसा विदेश पलायन भइरहेको छ’, उनले भने।

राणाले सरकारले बजार व्यवस्थापनमा समेत प्रभावकारी काम गर्न नसकेको आरोप लगाए। ग्यास आपूर्ति र वितरणमा समस्या देखिएको तथा महँगी बढेको उल्लेख गर्दै उनले सरकारको व्यवस्थापन कमजोर रहेको टिप्पणी गरे।

‘अहिलेको सरकार आएपछि ४५ प्रतिशतसम्म महँगी बढेको छ। ग्यास आएको छ। सिलिन्डर छन्, तर बजारमा सहज रूपमा बिक्रीवितरण हुन सकेको छैन’, उनले भने।

उनले आफ्ना विचार र सरकारका कामकारबाहीबारे जनतामा लैजान आवश्यकसमेत रहेको बताए। महामन्त्री राणाले चितवन र राजधानीका तीन जिल्ला राजनीतिको इपिसेन्टर भएको बताउँदै रास्वपाको उदयको विषयमा समेत कुरा  राखेका थिए।

कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले चितवनमा झरेको साखलाई जोगाउन प्रयत्न गर्ने बताएका छन्। ‘हामीले व्यक्तिले गर्ने टिकट वितरण प्रणालीको अन्त्य गर्दैछौं’, उनले भने, ‘नेता चिनेको भरमा टिकट दिँदैनौं।’

केन्द्रीय सदस्य डा. सूर्यकान्त घिमिरेले पार्टी संगठनका गतिविधि बढाउनुपर्ने बताउँदै चितवनमा कांग्रेसको झन्डा गाड्नुपर्ने बताए।

प्रकाशित: ९ कार्तिक २०८३ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App