९ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

‘भारतको विरोध गरेर मात्र राष्ट्रवादी भइने युग सकियो’ भनेका वाग्लेलाई सुवेदीको साथ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबारे दिएको अभिव्यक्तिको अरुण कुमार सुवेदीले समर्थन गरेका छन्। उनले भारतको विरोधलाई नै राष्ट्रवाद मान्ने राजनीतिक सोचको अध्याय सकिएको बताएका छन्।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार रहेका सुवेदीले सामाजिक सञ्जाल एक्समा लेख्दै वाग्लेको अभिव्यक्तिलाई विषयवस्तुका आधारमा गलत ठहर गर्नुपर्ने कारण नदेखिएको बताएका हुन्। वाग्लेका आर्थिक तथा वित्तीय नीतिमा केही गम्भीर असहमति भए पनि सत्य बोल्ने साहसका लागि आफू उनको साथमा रहेको सुवेदीले उल्लेख गरेका छन्।

भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधसँग जोडेर हेर्ने युग सकिएको बताएका थिए। उनले नयाँ पुस्ताको प्राथमिकता राम्रो रोजगारी, सुशासन, आर्थिक समृद्धि र छिमेकीसँगको राम्रो सम्बन्ध रहेको उल्लेख गरेका थिए।

वाग्लेको अभिव्यक्तिपछि नेपालमा समर्थन र विरोधका आवाज उठिरहेका छन्। समर्थकहरूले यसलाई व्यावहारिक कूटनीति र आर्थिक समृद्धिमा केन्द्रित सोचका रूपमा व्याख्या गरेका छन्। आलोचकहरूले भने कालापानी र लिपुलेकजस्ता सीमा विवाद तथा राष्ट्रिय हितका विषयमा आवाज उठाउनु भारतको विरोध नभई राष्ट्र हितको विषय भएको तर्क गरेका छन्।

सुवेदीले सीमामा हुने व्यवहार र लामो समयदेखि कायम विवादले नेपाल-भारत सम्बन्धलाई प्रभावित पार्न सक्ने बताएका छन्। यस्ता विवादलाई वार्ता र सहकार्यबाट समाधान गर्नुपर्ने उनको भनाइ छ।

हेर्नुस् उनको एक्स पोस्ट

अर्थमन्त्रीजी आफ्नै दिल्लीको दिलवाली बातको अर्थ/अनर्थको संजालीय खेदोमा पर्नुभएको छ। उहाँको संजालीय बाहुबली दल यसमा मौन छ, सायद कन्फ्युज्ड।
सीमापुलिसको व्यवहार वा सीमाका स्थायी विवादले नेपाल-भारत सम्बन्धलाई पनि स्थायीरूपमा प्रभावित गराई आन्तरिक राजनीतिमा वजूद स्थापित गर्ने रोयल वाम र कम्युनिस्ट वामको औकात यसपटकदेखि स्थायी विदा भएको संकेत आएकै हुन्।
उहाँ प्रोटोकलमा उचित हो वा होइन भन्ने अर्को पक्ष हो, तर विषयवस्तुमा वाग्लेजीले अन्यथा लिनुपर्ने कारण देखिन्न। कांग्रेस त यसै यस्ता मुद्दामा भुत्ते र आपसी झगडामा तिख्खर, के पो अपेक्षा गर्नु?
तर यो सत्य हो, Anti-Indianism is nationalism को वाम दुर्जनताको भाष्यको अध्याय सकिएकै हो। विवाद त कालक्रममा सहकार्य र वार्ताबाट समाधान हुने विषय हुन्।
Don’t worry Wagleyjee, तपाईंको यथार्थ र सत्यको साहसका साथ कम्तीमा म छु, तपाईंका वित्त र आर्थिक नीतिहरूमा केही गहन असहमतिका बाबजुद।
वातावरण र सामाजिक वामलाई यो सरोकारको विषय होइन। रोयल वाम र कम्युनिस्टले असहमति जनाउँदै आइलागेनन् भने म ठीक-बेठीक निर्क्योल नै गर्न असमर्थ हुने गर्छु।

प्रकाशित: ९ कार्तिक २०८३ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App