वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका उदयपुरका एक युवकको सुतेकै ठाउँमा निधन भएको छ।
तीन महिनाअघि मात्र कोरिया पुगेका लिमचुङबुङ-४, बलम्ता छाताङका ३४ वर्षीय पश्बिन राईको कम्पनीको आवासगृहमा सुतेकै ठाउँमा निधन भएको हो। असोज ३० गते, दसैँको फूलपातीको अघिल्लो राति राईको अकस्मात् निधन भएको आफन्त भरत राईले बताए।
उनका अनुसार गत असार तेस्रो साता मात्र कोरिया पुगेका राईले साउनदेखि काम गर्न थालेका थिए। स्थानीय बङ्गुर फार्ममा काम गर्दै आएका उनी कामबाट फर्केपछि खाना खाएर सुतेका थिए। भोलिपल्ट बिहान उनी ओछ्यानमै मृत फेला परेका हुन्।
बिहान ड्युटी जाने बेला भइसक्दासमेत नउठेपछि कोठाका साथीले उठाउन खोज्दा उनी मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ। तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिए पनि ढिला भइसकेको चिकित्सकले बताएका थिए।
राईका दुई दाजु र एक भतिज पनि कोरियामै कार्यरत छन्। तर, उनीहरू सयौँ किलोमिटर टाढा रहेकाले तत्काल घटनास्थल पुग्न सम्भव नभएको बताइएको छ। आफन्त भरतका अनुसार काइँला दाइ यादव राई, अन्तरे कमल र भतिज विपिन पश्बिनभन्दा पहिलेदेखि नै कोरियामा कार्यरत थिए। पश्बिन भने लामो प्रयासपछि इपिएस उत्तीर्ण गरेर यस वर्ष मात्र कोरिया गएका थिए।
नेपालमा उनका तीन नाबालक छोरा, श्रीमती र आमा-बुबा छन्। उनको निधनले परिवार शोकमा डुबेको छ। श्रीमती र छोराछोरीले अभिभावक गुमाएका छन्।
स्थानीयका अनुसार घटनाको भोलिपल्ट मध्याह्न मात्र घरमा खबर पुगेको थियो। त्यतिबेला परिवार दसैँको माहोलमा थियो। फूलपातीका दिन भीमसेन पूजा गरेर राँगो बलि दिएलगत्तै पश्बिनको निधनको खबर आएपछि राई परिवार शोकमा डुबेको थियो।
उनको शव नेपाल ल्याउन कानुनी प्रक्रिया चलिरहेको वडा कार्यालयले जनाएको छ। दसैँ बिदाका कारण प्रक्रिया अघि बढाउन ढिलाइ भए पनि आवश्यक सिफारिस बनाएर पठाइएको सचिव छविराज राईले बताए।
राई कार्यरत कम्पनीले शव नेपाल पठाउनुअघि पोस्टमार्टम गर्नुपर्ने र त्यसका लागि नेपालबाट प्रशासनिक सिफारिस आवश्यक पर्ने जानकारी गराएको थियो। सोहीअनुसार शुक्रबार सिफारिस पठाइएको सचिव राईले बताए। सिफारिस पठाएपछि शनिबार दाजुहरूको उपस्थितिमा शवको पोस्टमार्टम भएको जानकारी आएको उनले बताए।
दाजुहरू कोरियामै रहे पनि उनीहरू बसेको ठाउँबाट पश्बिन कार्यरत कम्पनीसम्म पुग्न हवाई यात्रामा मात्र एक घण्टा लाग्ने बताइएको छ। दाजुहरू त्यहाँ पुगेर पोस्टमार्टमपछि शव नेपाल पठाउने प्रक्रिया अघि बढाएको छ।
प्रकाशित: ९ कार्तिक २०८३ १२:१४ सोमबार





