४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

शिक्षामन्त्रीले भने- कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट छ, कुनै हतार गरिएको होइन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको बताएका छन्।

बिहीबार काठमाडौंको माइतीघरमा विद्यार्थीहरूले गरेको प्रदर्शनपछि सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताए।

उनले आवश्यक जनशक्ति थपेर र अनावश्यक प्रशासनिक झन्झट छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको दाबी गरे।

यसअघि बिहीबार नै कक्षा १२ को नतिजा र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका थिए।

पुनर्मूल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको आरोप लगाउँदै विद्यार्थीहरूले ‘१२ वर्षको मिहिनेत खेर फाल्ने जिम्मेवार को ?’ भन्दै प्रश्न गरेका थिए।

विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलन गर्ने लोकतान्त्रिक अधिकारको सम्मान गर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा विद्यार्थीहरू लक्षित नकारात्मक टिप्पणीप्रति भने असन्तुष्टि जनाए।

मन्त्री पोखरेलले लेखेका छन्, ‘यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु।’

प्रकाशित: ११ असार २०८३ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App