श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन आचारसंहिताको मौन अवधि सुरु भएपछि पनि सामाजिक सञ्जालमा देखिएको आफ्नो सक्रियतामा ‘ब्रेक’ लगाएका छन्।
सोमबार राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरिए पनि उनले मंगलबार दिउँसोसम्म निरन्तर फेसबुकमा लेख्दै आएका थिए।
साम्पाङले मौन अवधि सुरु भइसक्दा पनि अन्य राजनीतिक दलहरूको आलोचना गर्दै विभिन्न स्ट्याटस पोस्ट गरेका थिए।
तर, अहिले उनले नियमविपरीत देखिएका ती सबै सामग्री आफ्नो फेसबुक पेजबाट हटाएका छन्। सामाजिक सञ्जालमा अत्यधिक सक्रिय साम्पाङले फेसबुकलाई नै मुख्य सञ्चार माध्यम बनाउँदै आएका छन्।
पुराना पोस्ट हटाएपछि साम्पाङले व्यंग्यात्मक शैलीमा नयाँ स्ट्याटस लेखेका छन्। उनले मुखमा औंला राखेको र हाँसेको इमोजीसहित ‘अवधि’ मात्र लेखेर पोस्ट गरेका हुन्।
आचारसंहिताको पालना गर्नुपर्ने दबाबपछि उनले सांकेतिक रूपमा यस्तो प्रतिक्रिया जनाएको देखिन्छ।

प्रकाशित: १९ फाल्गुन २०८२ २०:२२ मंगलबार





