२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

मंसिर ७ देखिको आन्दोलनमा दुर्गा प्रसाईंले खोजे यातायात व्यवसायीको साथ

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले यातायात व्यवसायीको साथ खोजेको छ।

राजसंस्था पुर्नस्थापना, हिन्दू राष्ट्र, संघीयता खारेजलगायतका माग राखेर मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेको महाअभियानका संयोजक प्रसाईंले बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरलाई फोन गरी आन्दोलनमा साथ खोजेका हुन् ।  

यातायात व्यवसायीहरुको विभिन्न संस्थाहरुको साधारण सभा तथा अधिवेशनमा सहभागी हुन पोखरा आएका अध्यक्ष स्वाँरलाई प्रसाईंले बरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)को फोनमार्फत कुराकानी गरेका थिए । आफूहरुको माग आम नेपालीको साझा माग भएकाले आन्दोलनमा साथ दिन प्रसाईंले आग्रह गरेको अध्यक्ष स्वाँरले बताए ।  

जवाफमा आफूले तपाईंहरुले पनि त हाम्रै गाडी तोडफोड गर्ने, क्षति पुर्‍याउने त होला नि भनेर जवाफ दिएको उनले जानकारी दिए । सहयोग गर्ने बारेमा भने बैठक राखेर छलफलपछि भन्न सक्ने जवाफ दिएको उनले बताए । ‘प्रसाईंले आन्दोलनमा सहयोग चाहियो भन्नुभयो, उनले भने, ‘त्यसपछि मैले तपाईंहरुको आन्दोलनमा पनि हामी नै टार्गेट हुने त होला नि भनेर भनेँ । सहयोगबारे भने काठमाडौं फर्केर बैठक बसेपछि भनौंला भनेर जवाफ दिएँ ।’

बरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)ले पनि आफूमार्फत अध्यक्ष स्वाँरसँग प्रसाईंले कुरा गरेको स्वीकारे । प्रसाईंले आज मलाई फोन गरेर आन्दोलनमा सहयोग गर्नूस् भन्नुभयो,उनले भने,‘मैले मसँगै अध्यक्षज्यू हुनुहुन्छ तपाईं आफै कुरा गर्नूस भनेर फोन दिएँ । त्यसपछि उहाँहरुबीच कुराकानी भयो ।’  

व्यवस्था परिवर्तनको माग गर्दै आन्दोलन घोषणा गरेका प्रसाईंको गत फागुनमा भएको आन्दोलन हिंसात्मक बनेको थियो । त्यसपछि भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो । तर अदालतले छाड्न आदेश दिएपछि उनी फेरी आन्दोलनमा होमिएका छन् ।

प्रकाशित: २७ कार्तिक २०८२ १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App