राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले सुमिरे टुर एन्ड ट्राभल्सबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका व्यक्ती उतै लुकेको विषयमा आफुलाई जानकारी नभएको बताएका छन्। उक्त ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका अर्यालले यो विषय स्काउटको भएकाले आफूलाई सबै कुरा जानकारी नभएको र लामो समयदेखि ट्राभल एजेन्सी आफूले नहेरेको बताए।
‘यसमा हाम्रो ट्राभल्सको कुनै नाता छैन, हुँदैन पनि। मैले ट्राभल्स नहेरेको धेरै वर्ष भयो। कति जना गएका थिए, कसले पठायो भन्ने सम्बन्धमा मलाई जानकारी छैन। पठाएको स्काउटले हो, स्काउट नै जिम्मेवार हुन्छ। यो विषयमा स्काउटलाई नै सोध्नुभयो भने सबै विवरण उपलब्ध हुन्छ,’ अर्यालले नागरिकसँग भने।
नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका कतिपय स्वदेश नफर्केपछि स्काउटले चासो देखाएको छ। स्काउटले उनीहरू कोरिया र डेनमार्क गएको र टिकट लिएको सबै विवरण प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोलाई उपलब्ध गराएको छ। उपलब्ध विवरणमा स्काउटका नाममा उनीहरू गएको र आफैंले पैसा तिरेर सुमिरे ट्राभल्सबाट टिकट काटेको खुल्न आएको छ। कोरिया र डेनमार्ग पुगेकाहरू नफर्केपछि स्काउटले त्यहाँको प्रहरीलाई पनि यसबारे जानकारी गराएको थियो। तर त्यहाँको प्रहरीले वास्ता नगरेको बताइएको छ।
नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कोरिया र डेनमार्ग पुगेका केही व्यक्ति लुकेको स्वीकार गरे। ‘उहाँहरू लुकेको कुरा सत्य हो। हामीले त्यहाँको प्रहरीलाई पत्राचार गरेर लुकेर बसेकालाई फिर्ता पठाइदिन आग्रह ग-यौंतर फिर्ता भएको अवस्था छैन। जानुअघि लुक्दैनौं भन्ने कागजात पनि गराएका थियौं।'
प्रकाशित: २६ श्रावण २०८२ ०९:३९ सोमबार





